पोखरा ६ पुष २०८० /
पोखराका एक युवासहित दुई जना लागू औषध खैरो हिरोइनसहित तनहुँको आँबुखैरेनीबाट पक्राउ परेका छन्। लागुऔषध प्रयोग तथा ओसारपोसारबिरुद्ध अभियान संचालन गरिरहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले पृथ्वीराजमार्गको मुग्लिनबाट आँबुखैरेनीतर्फ आइरहेको सवारी चेकजाँच गर्दा खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं. १४ का ३९ वर्षीय यमबहादुर विक र झापाको कन्काई नगरपालिका वडा नं ३ का ३३ वर्षीय अनिरुद्ध मिश्र रहेको प्रहरीले जानकारी दिएको छ। ‘हाइवेमा सवारी चेकजाँचको क्रममा बसमा सवार झापा कन्काई नगरपालिका वडा नं ३ का ३३ वर्षीय अनिरुद्ध मिश्रलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ’, ईलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरिक्षक शिव थापाले भने, ‘सोही घटनाको अनुसन्धान गर्दै जाँदा पोखरा महानगरपालिका वडा नं. १४ का ३९ वर्षीय यमबहादुर विकलाई पनि पक्राउ गरिएको छ ।’
उनीहरुलाई बिहिबार नै तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको इन्स्पेक्टर थापाले बताए । पक्राउ परेका मिश्रको शरीरमा खान्तलासी गर्दा उनको शरीरमा लगाएको जिन्स पाईन्टको अगाडि दाहिने तर्फको गोजीमा कालो रङको पोलिथिन झोलाभित्र लुकाई छिपाइ राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको उनले बताए । मिश्रबाट २४ ग्राम ५७० मिलिग्राम खैरो हिरोइन(ब्राउन सुगर) पदार्थ बरामद गरेको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।