पोखरा, ५ पुष २०८०/
एक जना भारतीय युट्युबरली नेपाल प्रहरीका हवल्दारलाई कुटपिट गरेको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ। सामाजिक संजालमा भाइरल भैरहेको भिडियोमा एक जना नेपाल प्रहरीका हवल्दारलाई केही व्यक्तिले कठालो समातेर हातपात गरिरहेको प्रष्ट देखिएको छ।
उक्त भिडियोमा हातपात भएका प्रहरी हवल्दार डोकेबजार प्रहरी चौकीमा कार्यरत बिष्णु भुल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।
उपचारका लागि भारत जाँदै गरेका भाइलाई गाडीसम्म पुगाउन गौरीफन्टा नाकाको पारीपट्टी भारतीय भूमीमा प्रवेश गरेका प्रहरी हवल्दार भुललाई भारतीय युट्युबर भारतको पलियाका पियुस गुप्तासहितका व्यक्तिले समातेर हातपात गरेको बताइएको छ।
उक्त घटना ३ पुसको दिउँसो करीब २ बजेतिरको भएको प्रहरीले जनाएको छ। उनीमाथि हातपात गर्ने मध्येका एक जना चिनेजानेकै व्यक्ति भारतीय युट्युबर पियुस गुप्ता भएको पिडित प्रहरी हवल्दार भुलले नेपाल प्रहरीलाई जानकारी दिएका छन्। । ‘गुप्ता सीमा क्षेत्रमा आउजाउ गरिराख्थे । दुवै जनाबीच चिनजान पनि रहेछ तर त्यो दिन किन हातपात गरे खुल्न सकेको छैन,’ प्रहरी स्रोतको भनाइ ।
पुख्र्यौली घर अछाम भएर हाल कैलालीको टीकापुर बस्दै आएका भुलमाथि हातपात भएको घटना सार्वजनिक भएपछि उनलाई डोकेबजारबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती तानिएको छ । भुलमाथि हातपात गर्ने गुप्ता समूहलाई कारवाहीको माग गर्दै भारतीय प्रहरीमा निवेदन दर्ता गरिएको प्रहरीले जनाएको छ ।