पोखरा, २ पुष २०८०/
लमजुङबाट मोटरसाईकल चोरी गरेर भागेका दुई युवालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ। लमजुङबाट मोटरसाईकल चोरी गरेर भागेका सुन्दरबजार नगरपालिका–८ बस्ने १९ बर्षिय बिसाल कुमाल र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ बस्ने २४ बर्षका अनिष बानियालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो।
उनीहरुले मंसिर २५ गते राती ११ बजेतिर सुन्दरबजार नगरपालिका ९ मा रहेको युवराज गुरुङले आफ्नो कोठा अगाडि पार्किङ गरेर राखेको दूधपोखरी गाउँपालिका ३ का ३३ वर्षिय श्याम गुरुङको मोटरसाइकल चोरी गरेर भागेको प्रहरीको आरोप छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको टोलीले मंसिर २९ गते काठमाडौंको तार्केश्वर नगरपालिका ११ मा लुकिछिपी बसिरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई लमजुङ ल्याएर आइतबार जिल्ला अदालत लमजुङबाट चोरी सम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।