लगानी सम्मेलनमा विभिन्न मुलुकका व्यवसायीले करिब साढे १४ खर्ब रुपैयाँ (१३ अर्ब ५२ करोड डलर) बराबरको लगानी प्रतिबद्धता जनाएका छन् । लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनका व्यवसायीले करिब ८ खर्ब ८८ अर्ब (८ अर्ब ३० करोड डलर) बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी बंगलादेशले २ खर्ब ५६ अर्ब (२ अर्ब ४० लाख डलर), जापान र बेलायतले एक/एक खर्ब ७ अर्ब (१ अर्ब डलर), श्रीलंकाले ५३ अर्ब (५० करोड डलर) र भारतले करिब ३४ अर्ब (३१ करोड ७० लाख डलर) बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् ।
सम्मेलनमा नेपाली व्यवसायीबाट पनि १ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । विभिन्न १६ वटा कम्पनीले सम्मेलनका बखतमा लगानी प्रतिबद्धता व्यक्त गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । कम्पनीहरुले सम्मेलनमा बेलामा आशयपत्र प्रस्तुत गरेका छन् । सरकारले लगानी प्रतिबद्धता गरेका कम्पनीहरुलाई व्यवसाय सुरु गर्न आवश्यक सहजीकरण गर्ने उनले बताए ।
स्वदेशी तथा विदेशी गरि एक हजारभन्दा बढी कम्पनी सहभागी सम्मेलनमा ठूलो मात्रामा लगानीको प्रतिबद्धता आएको हो । सम्मेलनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ भन्ने सन्देश दिएको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । ‘नेपालमा कुनै राजनीतिक समस्या छैन, लगानीको वातावरण छ भन्ने सन्देश यो सम्मेलनले दिएको छ,’ उनले भने, ‘म नेपालको आर्थिक वृद्धिका र समृद्धिका लागि एकदमै उत्साहित छु ।’ उनले आगामी १० वर्षमा नेपाली युवा कामको खोजिमा विदेशिनु पर्ने अवस्था नआउने दाबी गरे ।