आयोजक भारतलाई हराउँदै अष्ट्रेलियाले आइसीसी एक दिवसीय विश्वकपको उपाधि छैटौं पटक कब्जा गरेको छ। अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया छैटौं पटक च्याम्पियन बनेको हो। अष्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।
भारतले दिएको दुइसय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ३ विकेटको क्षतिमा ४३ ओभरमै पूरा गरेको थियो। अष्ट्रेलियालाई च्याम्पियन बनाउन ट्राभिज हेडले शतकीय पारी खेलेका थिए। उनले एकसय ३७ रन बनाएर आउट भएका थिए। एकसय २० बल खेलेका उनले १५ चौका र ४ छक्का प्रहार गरेका थिए।
त्यस्तै मार्नुसले अविजित अर्धशतकसहित ५८ रन र म्याक्स वेल २ रनमा अविजित रहे। त्यस्तै डेभिड वार्नर ७, मिचेल मार्स १५ र स्टिभ स्मिथ ४ रन बनाएर पेभेलियन फर्किएका थिए।
त्यसअघि भारतले निर्धारित ओभरको खेलमा सबै विकेट गुमाएर दुइसय ४० रन बनाएको थियो। अष्ट्रेलियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको भारतका लागगि केएल राहुल र विराट कोहलीले अर्धशतक प्रहार गरे। राहुलले ६६ र विराटले ५४ रन बनाएर आउट भएका थिए।
त्यस्तै कप्तान रोहित शर्मा ४७, शुभम गिल ४, श्रेयस लैयर ४, रविन्द्र जडेजा ९, सूर्यकुमार यादव १८, मोहम्मद सामी ६, जसप्रित बुमराह १, कुल्दीप यादव १० र मोहम्मद सिराज ९ रनमा अविजित रहे।
समूहचरणको खेलमा अपराजित रहेको भारतले सेमिफाइनलमा न्युजील्यान्डलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। अष्ट्रेलियाले भने दक्षिण अफ्रिकालाई हराउँदै फाइनल पुगेको थियो। यसपटक भारतलाई बलियो दाबेदारको रूपमा हेरिए पनि तेस्रोपटक उपाधि जित्न भारत चुकेको छ। भारतले यसअघि १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो।