नवलपुरको देवचुली नगरपालिकामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ। उक्त दुर्घटनामा छ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा बौदीकाली गाउँपालिका वडा नं ६ का ४५ बर्षीया कमला वान्टकी, बौदीकाली ६ कै ५५ बर्षीय टेकमान वान्टकी मगर, ५२ बर्षीया कुमारी राना, २९ बर्षीय चालक छन बहादुर आले मगर, बुलिङ्टार गाउँपालिका वडा नं ४ का चुलिबोझाका १२ बर्षीय बालिका करिश्मा ठाडा, कावासोती वडा न १६ का १७ बर्षीय अस्विन गैरे र घाइते भनिएका मध्यविन्दु नगरपालिका वडा नं २ मदनपुरका १८ बर्षीय चिरन अर्यालको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजार आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं ९ को एसमोडमा आइतबार करिब ११ बजे दुर्घटना भएको थियो । उक्त दुर्घटनमा परेर जिपमा सवार सातै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए।