अर्थमन्त्री कृष्णबहादुर महरालाई भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालमा आफ्नै देशमा उद्योग खोल्ने औद्योगिक नीति बनाउन सल्लाह दिएका छन् लगानी सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय वित्तमन्त्री अरुण जेट्लीको स्वागतमा अर्थमन्त्री कृष्णबहादुर महराले विहीबार साँझ आयोजना गरेको रात्रीभोजमा जेट्लीले महरालाई यस्तो सल्लाह दिएका हुन् । ४५ मिनेट भएको उक्त वार्तालापमा भारतीय वित्तमन्त्री जेट्लीले अघि भने, “नेपालले भारतबाट धेरै वस्तुहरु आयात गर्छ, तपाईहरु आफ्नै देशमा उद्योग धन्दा सञ्चालन गर्ने औद्योगिक नीति बनाउनोस्’
भारतीय वित्तमन्त्रीको भनाई उद्धृत गर्दै अर्थमन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार, नेपालमा स्थापना हुने उद्योगधन्दा सञ्चालनका लागि भारत मिलेर संयुक्त लगानी गर्न तयार रहेको बचन दिएका थिए ।
भेटमा अर्थमन्त्री महराले नेपाल-भारतवीच व्यापार घाटा बढेको भन्दै यसलाई कम गर्न भारतले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिइ । जवाफमा भारतीय अर्थमन्त्री जेट्लीले व्यापार घाटा कम गर्ने हो भने नेपालले आयात घटाउनुपर्ने र आफ्नै देशमा उद्योगधन्दा एवं कलकारखानाहरु खोल्नुपर्ने कूटनीतिक सुझाव दिएका थिए ।
जेट्लीसँगको भेटमा अर्थमन्त्री महराका साथै अर्थसचिव शान्तराज सुवेदी, गभर्नर चिरञ्जीवी नेपाल, पुण्यप्रसाद रेग्मी लगायतको सहभागिता थियो ।
रात्रीभोज सहितको भेटमा भारतीय वित्तमन्त्री जेट्लीले नेपालले पूर्वाधार विकासमा जोड दिनुपर्ने सुझाव दिए । नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्ने उनले आश्वासन दिए ।
भारुको समस्या यसै साता समाधान हुने
द्वीपक्षीय भेटमा अर्थमन्त्री महराले भारु नोटको समस्याका विषयमा पनि कुरा उठाएका थिए । नेपालमा २५ हजार भारुसम्म राख्न पाउने नियम रहेको छ । भारतमा नोटबन्दी लागू भएपछि नेपालीसँग रहेको पुराना ५ सय र हजारका नोट साट्न समस्या नरहेको भारतीय वित्तमन्त्री जेट्लीले बताए । तर, नेपालले पाउने यो सुविधाको दुरुपयोग हुने डर भारतलाई रहेको जेट्लीको भनाइ थियो ।
तर, यसबारे दुई देशका गर्भनरहरुवीच छलफल चलिरहेको र अबको केही दिनमै यो समस्या समाधान हुने जेट्लीले आश्वासन दिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
यसअघि वित्तमन्त्री जेटलीसँगै नेपाल आएको भारतीय रिजर्भ बैंकका अधिकारीहरुको टोलीले बुधबार नेपाल राष्ट्र बैंकका अधिकारीसँग भेट गरेको थियो । यो भेटमा भारु नोटको समस्याबारे छलफल भएको थियो ।
दुई देशका बैंकका अधिकारीवीच भएको भेटमा कालो धनले प्रश्रय नपाउने गरी नेपालीसँग रहेको भारु सटही गर्न भारतीय पक्षले सैद्धान्तिक सहमति जनाएको छ ।
भारतीय वित्तमन्त्री जेटली काठमाडौंमा आयोजित अन्तरराष्ट्रिय लगानी सम्मेलनमा भाग लिन अर्थमन्त्री महराको निमन्त्रणमा काठमाडौं आएका हुन् ।
बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलन शुक्रबारसम्म चल्नेछ । सम्मेलनमा नेपाल र भारतका सरकारी अधिकारीहरुका साथै बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रवन्ध निर्देशक सुयस चौहान र बोट्लर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सन, माइक्रोसफ्ट कम्पनीका एशिया प्यासिफिक महाप्रवन्धक मिसेल सिमोन्स लगायतको सहभागिता रहेको छ ।