नेकॉअ एमाले संसदीय दल गण्डकीले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पुनर्निर्माणमा दुई लाख ७९ हजार रुपैयाँ दिने भएको छ ।
आइतबार बसेको आकस्मिक बैठकले पीडितहरूलाई आफ्ना सदस्यहरुबाट उठाएर उक्त रकम उपलब्ध गराउने निर्णय भएको संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए । उनले एमाले संसदीय दलबाट उठेको दुई लाख ७९ हजार रुपैयाँ सरकारी राहत कोषमा जम्मा गरिने बताए।
गण्डकी प्रदेश सभामा एमालेको २२ सांसद छन् । उनीहरुले एक हप्ताको पारिश्रमिक बराबरको रकम उपलब्ध गराउन लागेको एमाले संसदीय दलका नेता खगराज अधिकारीले जानकारी दिए । ‘हामीले सुरुवाती समयमा एक हप्ता बराबरको पारिश्रमिक सहयोग गर्न लागेको हौं,’ उनले भने । गण्डकी प्रदेशको सत्तापक्षको दलले सामूहिक रुपमा पठाउने भनेपनि तयार रहेको उनले बताए ।
नेता अधिकारीले रेस्क्यु गर्ने समयमा नेता, कार्यकर्ता जानु गलत रहेको बताए । यो समयमा तालिम प्राप्त उद्दारकर्ताको आवश्यकता पर्ने उनको भनाइ थियो । ‘रेस्क्युको समयमा उद्दारकर्ता नै पहिलो हो । नेताहरु जानु पर्दैन्,’ उनले भने, ‘यो समयमा अनस्किल्ड उद्दारकर्ता जानु बेकार हो ।’
यसैबीच प्राप्त जानकारी अनुसार, गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आइतबार बिहान मुख्यमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।
‘भूकम्पले कर्णाली प्रदेशमा ठुलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले एक करोड दिने निर्णय गरेका हौँ, ’ बैठकपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने ।
शुक्रबार राति भूकम्प गएको र शनिबार बिहानै भूकम्प प्रभावितको उद्धार र उपचारका प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी सहितको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराइरहेको छ,’ उनले भने, ‘हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।’
मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
भूकम्प पीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधी सहित विषेशज्ञ चिकित्सकको टोली शनिबार नै कर्णाली प्रदेशको प्रभावित क्षेत्रमा पठाएको थियो ।