इलाका प्रहरी कार्यालय दुहबीबाट सादा पोशाकमा खटिएका दुई जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमामा रहेका प्रहरीमाथि गएराती १२ बजे आक्रमण गरि हतियार लुटिएको हो ।
आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।
सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भएको समेत उनले बताए ।