नेपाल कम्युनिस्ट पार्टीका हालै केही दिनअघि सम्पन्न महाधिवेशनले सरकारले घोषणा गरेको स्थानीय तहका निर्वाचनलाई शसक्त बहिस्कार गर्ने र असफल बनाउँने र स्थानीय जनसत्ताको चुनाव गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बमसँग पत्रकार देविराम देवकोटाले गरेको कुराकानीको मुख्य अंशः
थवाङबाट माओवादी नाम छोडेर के सन्देश दिन खोजेको तपाईँहरुले ?
जसरी प्रचण्ड–बाबुरामहरुले जनयुद्धलाई छोडेर क्रान्तिलाई पूरा गर्न सकेनन्, त्यो पुरा गर्ने र शहीदका सपना पुरा गर्न नेपाल कम्युनिष्ट पार्टीले सक्छ र हामीले सक्छौं भन्ने सन्देश दिन खोजेका हौं ।
नाम परिबर्तन गरेर कसरी क्रान्ति पूरा होला ? त्यो त पुष्पलाल श्रेष्ठले कम्युनिस्ट पार्टी स्थापना गर्दा राखेको नाम हो नी ?
नेपालमा ६२ प्रतिशत भन्दा बढी कम्युनिष्टहरु छन् । उनीहरुलाई एकिकृत र केन्द्रिकृत गर्नुपर्छ र त्यसको सुरुवात सच्चा र सक्कली माओवादीको एकताबाट सुरु हुन्छ । प्रचण्ड र बाबुरामको गद्धारीलाई जनताले अस्वीकार गरिसकेको र त्यो मेटाउन जनक्रान्ति अर्थात एकिकृत जनक्रान्तिबाट क्रान्ति पूरा गर्न चाहान्छौं । विगत जस्तो हामी हुन दिदैनौं र पूरा गरेरै छोड्छौं भन्ने उद्देश्यले हामीले नाम परिबर्तन गरेका हौं । पुरानो भएपनि पुरानो र नयाँको फ्युजन हो ।
तर, महाधिवेशनको बन्दशत्रमा प्रतिनिधिहरुले पार्टीको नाम परिबर्तन गर्न हुँदैन भन्ने मतलाई बेवास्ता गर्नु भयो नि ?
प्रतिनिधिहरुले सुझाव दिएका थिए । कार्यदिशा, लाईन र कयौँ सैद्धान्तिक र राजनैतिक महत्वका बिषयहरुमा बहस केन्द्रित थियो । नामको विषय त मेडियाले हाईलाईट गरेको कुरा मात्रै हो ।
महाधिवेशनको बन्दशत्रमा सहभागी प्रतिनिधिहरुले खोजेजस्तो कार्यदिशा र कार्यक्रम पनि दिन सक्नु भएन भन्ने आरोप पनि छ तपार्इँहरुलाई ?
देश र जनताको आवश्यकतालाई सम्बोधन गर्ने गरेर हामीले एकिकृत जनक्रान्तिको कार्यदिशा र कार्यक्रम पारित गरेका छौं । यसले नेपालमा एउटा ठूलो प्रभाव र परिबर्तन अर्थात गुणात्मक परिबर्तन ल्याउछ भन्ने हामीलाई विश्वास छ । यो कुरा सबैले एकैपटक बुझ्न सक्दैनन् ।
प्रतिनिधिहरुले विगतजस्तै युद्ध गर्नुपर्छ सुझाव दिएका थिए तर त्यो भएन त ?
यो त तपार्इँको प्रश्न मात्रै हो । विगतको जस्तै युद्ध गर्नुपर्छ भन्ने छैन र होइन । अहिले नयाँ तरिकाले क्रान्ति गर्नुपर्छ भन्ने थियो । त्यहीअनुसार पार्टीको महाधिवेशनले नीति, योजना र कार्यक्रम पारित गरेको छ । यो मूर्त पनि छ र ठोस पनि छ । यो अमूर्त भन्ने छैन ।
हामीले राष्ट्रियता र जनतन्त्रको कुरा गरेका छौं । जनजीविकाको कुरालाई सम्बोधन गरेका छौं । हाम्रो पार्टीले जीवनमा व्यक्त हुने गरी कार्यक्रम संचालन गरेको छ गरेका छौ र अझ त्यसलाई झन् गुणात्मकता दिने कार्यक्रम ल्याएका छौ । जनता र कार्यकर्ता यसप्रति पूर्ण विश्वस्त छन् र हुनेछन् ।
त्यस्ता के के कार्यक्रम छन् नयाँ, जसले जनताको जीविकालाई सहज पार्न सक्छन् ?
संकटग्रस्त संसदीय व्यबस्थाको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने कार्यक्रम छ । यो कार्यक्रममा मान्छेहरु नयाँ ढंगले आकर्षित केन्द्रिकृत र धु्रबिकृत हुँदै गएको छ । नेपाल दुईटा धु्रबमा बिकेन्द्रित भएको छ र यसलाई सफलीभूत पार्ने कार्यक्रम हामीले ल्याएका छौं । यो सफल भएमा जनताको जीवनस्तर सहज हुन्छ ।
राज्यले युद्ध रोजिरहेको छ । हामीले क्रान्ति रोजीरहेका छौं । जनताले कि क्रान्ति रोज्नुपर्छ कि युद्ध रोज्नुपर्छ ।
समाजवादी व्यबस्थाको कुरा गर्नुभयो, जनवादी क्रान्ति भएपछि आउने समाजवाद हो । तपाईँहरुले जनवादी क्रान्ति पूरा गरिसकेको निष्कर्ष निकाल्नु भएको हो ?
जनवादी क्रान्ति र समाजवादी क्रान्तिको बीचमा धेरै ठूलो खाडल वा पर्खाल हुँदैन । यो जोडिएको बिषय हो र यहि नै हामीले बुझेका छौं । यथार्थता पनि यही हो ।
तपाईँहरु र प्रचण्ड र बाबुरामका कुरा त एउटै भयो नि ?
प्रचण्ड र बाबुरामको कुरा र हाम्रो कुरामा आकाश पातालको फरक छ । उनीहरुले संसदीय व्यबस्था भित्र र संसदीय व्यबस्थालाई स्वीकारेर समाजवादको एउटा झुट कुरा गरिरहेका छन् । त्यो त वीपीको समाजवाद जस्तै कुरा हो । अर्थात एमालेले भन्ने गरेको समाजवाद जस्तै हो । हामीले भन्ने समाजवाद भनेको मालेमावादी दृष्टिकोणअनुसार पुरानो संसदीय राज्यसत्तालाई फालेर अर्थात त्यसलाई निषेध वा ध्वस्त गरेर त्यसको ठाउँमा खडा गर्ने नयाँ व्यबस्था हो ।
सरकारले स्थानीय तहका निर्वाचन घोषणा गरेको छ, अब तपार्इँहरु के गर्नुहुन्छ ?
यो चुनावलाई त ध्वस्त बनाउँछौं । खासगरी चुनाव बहिष्कार शसक्त बहिष्कार कस्तो हुन्छ हामीले यो चुनावमा देखाउँछौं । पहिला वैद्य र बादलका कारणले हामीले देखाउन सकेनौं । दोस्रो पटक भएको संविधान सभाको निर्बाचन शसक्त बहिष्कार गर्ने भन्ने थियो तर पार्टी भित्रैबाट अबरोध भयो । अब यो चुनाव शसक्त ढंगले बहिष्कार गर्छौँ, प्रतिरोध गर्छौँ, प्रतिकार गर्छौ र यो चुनाव असफल पार्छौँ ।
शसक्त बहिस्कार कस्तो हुन्छ ?
राज्यले जबर्जस्त चुनाव गर्न खोज्यो भने प्रतिरोधले जुनसुकै रुप लिन सक्छ । हामी जस्तो सुकै मूल्य चुकाएर भएपनि निर्बाचन हुन दिन्नौं । जसरी पनि चुनाव बहिष्कार गरिन्छ र असफल पारिन्छ ।
जनता त चुनाव पक्षमा छन् र सरकारले लामो तयारीका साथ घोषणा गरेको छ, कसरी असफल बनाउनु हुन्छ ?
हो, तर दलालहरुको चुनाव चाहेका छैनन् जनताले । जनताले त जनसत्ताको चुनाव चाहेका छन् । हामीले जनसत्ताको चुनाव गर्ने हो । जनसत्ताको चुनाव सफल पार्ने हो हामीले । हामीले दलालहरुको चुनाव असफल पार्ने हो ।
ए, जनसत्ता निर्माण गर्दै हो फेरि ?
हो, जनसत्ता त निर्माण गरिसकेका छौं । यसलाई अब कार्यान्वयनका लागि जनसत्ताको चुनाव गर्छौँ । जनताले जनसत्ताको चुनावमा भाग लिन्छन् ।
अनि जनसेना पनि निर्माण गर्ने कि ?
हो । त्यो पनि गर्ने हो । अहिलेको महाधिवेशनले निर्णय गरेको कुरा त्यो पनि हो । हामीले अब जनसत्ताकै चुनाव गर्ने हो । जनताले यही चाहेको छ । आबश्यकताले सेना पनि निर्माण गर्ने हो ।
जनसत्ताको चुनाव गर्दा सरकारले टुलुटुलु हेरेर बस्ला र ?
जनतालाई दमन गरेर कुन शक्ति बिजयी भएको छ र अहिलेसम्म ? त्यसकारण जनतालाई दमन गरे बिद्रोह हुन्छ र जनताले त्यस खालका दमनलाई असफल पार्छन् ।
प्रचण्ड र बाबुरामको कुरा र हाम्रो कुरामा आकाश पातालको फरक छ । उनीहरुले संसदीय व्यबस्था भित्र र संसदीय व्यबस्थालाई स्वीकारेर समाजवादको एउटा झुट कुरा गरिरहेका छन् । त्यो त वीपीको समाजवाद जस्तै कुरा हो । अर्थात एमालेले भन्ने गरेको समाजवाद जस्तै हो ।
तपाईँहरुले जनसत्ता, जनसेना निर्माण गरेर फेरि के गर्न खोज्नुभएको ?
नेपालको अधुरो क्रान्तिलाई पूरा गर्न चाहिरहेका छौँ ।
देशले फेरि यस्तो क्रान्ति थेग्न सक्ला र ?
राज्यले युद्ध रोजिरहेको छ । हामीले क्रान्ति रोजीरहेका छौं । जनताले कि क्रान्ति रोज्नुपर्छ कि युद्ध रोज्नुपर्छ ।
जनतालाई यसरी दबाब दिन पाईन्छ भन्या ?
हामीले जनतालाई सुसूचित गरेको कुरा हो समयमै । राज्यले त उहिल्यै निर्बाचन गरेर आफ्नो शासन लाद्यो । यो दबाब त सरकारले गरिरहेको छ ।
अनि तपाईँहरु निर्बाचनमै भाग नलिने अनि राज्यले के गर्ने त ?
उनीहरुकै भाषामा माओवादी समस्या समाधानका लागि संविधान सभाको निर्वाचन सारियो । माओवादी समस्यालाई जस्ताको त्यस्तै राखेर नेपालमा दोस्रो संविधान सभाको निर्वाचन नै गर्नु गलत थियो । यो नै नेपालमा द्वन्द्वको सुरुवात हो । यसमा विदेशीहरु र तिनका नेपाली दलालहरु लागेका छन् ।
हामीले त क्रान्तिका उपलब्धी रक्षा गर्न जनतालाई सुसूचित गरेका हौं । हामी परिवर्तनको पक्षपाती हौँ । क्रान्तिको पक्षपाती हौँ । हामीले जनतालाई सुुसूचित गर्न मात्र चाहेका हौं । राज्यले गरेको छ जबर्जस्ती । हामीले जबर्जस्ती गरेका छैनौं ।