बझाङमा सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनाग्रस्त हुँदा प्रदेश मन्त्री सिंहसहित चार जना गम्भीर घाइते भएका छन्। डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंह सवार सु प प्र ०१-००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा मन्त्री सिंहसहित चार जना गम्भीर घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् ।
सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा पुगेको उक्त गाडी पुर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ।