झापामा बसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको घटनास्थलमा नै मृत्यु, ठक्कर दिने बसमा आगजनी

झापामा बसले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको घटनास्थलमा नै मृत्यु, ठक्कर दिने बसमा आगजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 3K
    Shares

झापाको मंगलबारेमा आगजनी भएको बस

झापाको मंगलबारेमा स्थानीय बासिन्दाले बिहिबार एउटा यात्रीबाहक बसमा आगजनी गरेका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा यात्रुवाहक बसले स्कुटरमा सवार एक यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले उक्त यात्रीबाहक बसमा आगजनी गरेका हुन्।

आगजनीबाट बसमा नराम्ररी क्षति पुगेको छ। बसमा लागेको आगो उर्लाबारी र पथरी-शनिश्चरे नगरपालिकाको दमकलले नियन्त्रणमा लिएका थिए।

प्रहरीका अनुसार, बिहीबार दिउँसो सवा ३ बजे पश्चिमबाट पूर्व गइरहेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्र-१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट झापाको कमल गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ३४ का पवन सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, उर्लाबारीले जनाएको छ।

मृतकको शव पोस्टमर्टमका लागि स्थानीय मदन भण्डारी अस्पताल एन्ड ट्रमा सेन्टर मंगलबारेमा राखिएको छ। बसका चालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय, उर्लाबारीका प्रहरी निरीक्षक बबीन्द्र नेम्वाङले जानकारी दिए।

बसले स्कुटरलाई ठक्कर दिएको स्थानबाट मृतकको शरीर एक सय ३५ फिट पर उछिट्टिएको थियो। मृतक सवार स्कुटरलाई बसले घिसारेर २ सय ९५ फिट पर पुर्‍याएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। चालकले बसको गति नियन्त्रणमा लिन नसक्दा स्कुटरलाई उसकै ‘वे’ मा ठक्कर दिएको बताएका छन्।

प्रतिक्रिया