नक्कली भुटानी प्रमाणीकरण प्रकरणमा देखिएका शंकाष्पद नाटकीय दृश्यहरु

नक्कली भुटानी प्रमाणीकरण प्रकरणमा देखिएका शंकाष्पद नाटकीय दृश्यहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ जेष्ठ २०८०
  • 2.4K
    Shares

अरु बेला पानी बाराबारको स्थितिमा रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले दैनिक जसो तीन पक्षीय वार्ता गरिरहेका छन्। उनीहरुको भेटले लाग्छ, देशमा ठुलै उथलपुथल हुदैछ। त्यो उथलपुथल कस्तो हुने हो थाहा छैन। तर ११ दिन अघि पक्राउ पुर्जी जारी भएर पनि बेपत्ता रहेका एमाले नेता टोपबहादुर रायमाझी देउबा निवास बुढानिलकण्ठ नजिकबाटै पक्राउ परेका छन्। आइतबार अदालतमा पेश हुँदा उनीमा देश र जनताबिरुद्ध घात गरेकोमा कुनै पश्चाताप देखिदैन। उनले ठुलै बहादुरीको काम गरे जसरी संचारकर्मीहरुलाई उत्साहका साथ् हात हल्लाएका दृश्यहरु सार्वजनिक भैरहेका छन्।

दोश्रो पटक चार दिनका लागि म्याद थप गरिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँडले अर्का पूर्व उपप्रधान मन्त्री एबम एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेको थाहा पाएपछि बयान दिदादिदै बिरामी भएको नाटक गरेर आफ्नो बयान रोकेका छन्। उनले बयान दिन रोकेपछि प्रफुल्ल मुद्रामा रहेका र अदालतबाट तीन दिनको म्याद थप गरिएका एमाले नेता रायमाझीसँग प्रहरीले बयान लिन शुरु गरेको छ।

आफुले कुनै गल्ति नगरेको भावमा अदालत पुगेका रायमाझीको बयान पछि उनको बयान हेरेर सोही अनुसार बयान दिन खाँडले आफ्नो बयान रोकेको धेरैले अनुमान गरेका छन्। यस अघि उनले रायमाझी पक्राउ परे-नपरेको बारे पटक पटक प्रहरीसंग जानकारी मागेका खबरहरु सार्वजनिक भएका थिए।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, प्रहरीको गिरफ्तारीमा परेका अभियुक्तहरुलाई हिरासतमै पुगेर नेपाली कांग्रेसका नेताहरुलाई नपोल्न आग्रह गरेको भनिएका नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले काठमाण्डौस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा पुगेर आत्मसमर्पण गरेका छन्। रामेछापबाट २०७० सालमा सभासद निर्वाचित भएका उनी शरणार्थी प्रकरणमा पक्राउ पर्ने १४ औं व्यक्ति बनेका छन् ।

यो प्रकरणमा नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज राईलगायत पक्राउ परिसकेका छन् । यतिबेला आफ्ना श्रीमान बालकृष्ण खाँड पक्राउ पर्दा पनि उनकी श्रीमती मञ्जु श्रीमान भेट्न प्रहरी समक्ष जान सकेकी छैनन्। उनी यही पक्राउ पर्ने डरले बेपत्ता छिन। प्रहरीले पूर्व गृह मन्त्री रामबहादुर थापा ‘बादल’का पुत्र प्रतिककाबिरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ। तर उनी अझै पक्राउ परेका छैनन् ।

यस नक्कली भुटानी प्रकरणमा राम्रोसंग छानबिन भए सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउबा, नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उनकी श्रीमती राधिका शाक्य, एमाले नेता एबम पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत तानिने ब्यापक चर्चा चलिरहेको छ। यही कारण प्रम प्रचण्ड तथा पूर्व प्रधानमन्त्री समेत रहेका ओली र देउबाबिच पटक पटक त्रिपक्षीय वार्ता भएको आंकलन गरिएको छ। उनीहरु आफूहरु पनि यस प्रकरणमा तानिन सक्ने भएकाले कसरी बच्ने र यस प्रकरणलाई कसरी अन्त्य गर्ने भन्ने बारेमा ब्यापक छलफल गरेको धेरैको अनुमान छ।

उनीहरुको ग्राण्ड डिजाइनमा एमाले नेता रायमाझी र कांग्रेसका पुर्व सांसद शेर्पाले गिरफ्तारी दिएको हुनसक्ने राजनीतिक वृत्तमा ब्यापक चर्चाको बिषय बनेको छ। सामान्यतया: सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँछ। तर जिल्ला सरकारी न्यायाधिबक्ताले अवको चार दिनभित्र अनुसन्धान पूरा गरी मुद्दा बुझाउन प्रहरीलाई निर्देशन दिएका छन्।

नेपाली नागरिकलाई बिदेशी बनाएर मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्न हतारिनुले प्रहरी प्रशासन र न्यायालयमा ब्यापक दबाब परेको सहजै अनुमान गर्न सकिन्छा। त्यसमा पनि लेनदेनमा प्रत्यक्ष संलग्न रहेको ठानिएकी मञ्जु खाँड र पूर्व गृहमन्त्री बादल पुत्र प्रतिक अझै फरार छन् ।

नक्कली भुटानी प्रमाणीकरण प्रकरणमा कारबाही हुनु पर्ने चर्को आवाज उठि रहेकी पूर्व प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाकी पत्नी डा. आरजु राणा देउबाले आफूलाई निर्दोष साबित गराउन विभिन्न संचार माध्यमहरुलाई उपयोग गरिरहेकी छिम। नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेकी उनी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडकि पत्नी मञ्जु खाँडबिरुद्ध सार्वजनिक भएको अडियो नक्कली भएको दाबी गर्दै त्यो अडियो सार्वजनिक गर्ने पत्रकार र संचार माध्यमलाई समेत कारबाहीको माग राखेर प्रहरीमा उजुरी समेत दिएकी छिन। उनले आफूविरुद्ध झुट्ठा र भ्रामक समाचार सार्वजनिक गर्ने पत्रकार र संचार माध्यमलाई छानबिन गरी कारबाही नभएकोमा राणाले आइतबार भएको प्रतिनिधि सभाको बैठकमा प्रहरीको बिरोध गरिन् र यथार्थ सार्वजनिक गरिदिन माग गरिन्।

नेपालका शिर्ष राजनीतिक नेताहरुको दैनिकजसो भेटघाट, अनुसन्धानमा देखिएको हतारो, पक्राउ परेका उच्च पदस्थ नेतृत्व र पक्राउ पर्न सक्ने आशंकित व्यक्तित्वहरुको उच्च मनोबल हेर्दा फेरी पनि केही कर्मचारीहरुलाई दोषी ठहर गर्दै जेल हालेर राजनीतिक नेतृवबिरुद्ध प्रमाण नपुगेको भन्दै चोख्याउने षड्यन्त्रहरु चलिरहेका त हैनन् ? सर्वत्र चिन्ताको बिषय बनेको छ।

हुन त नेपालमा राजनीतिक नेतृत्वले नक्कली भुटानी प्रकरणमा सफाई पाए पनि यस बारेमा अमेरिकाले समेत छानबिन गरिरहेकाले अमेरिकाको छानबिनबाट उनीहरु बच्न नसक्ने राजनीतिक नेताहरुको बुझाई छ। यही मुद्दाकाकारण नेपाल अन्तरराष्ट्रिय स्तरमा मानव तस्करी गर्ने र कालो धन थुपार्ने गिरोहहरुको देशका रुपमा बदनाम हुने त हैन ? अर्को चिन्ताको बिषय बनेको छ। तसर्थ देशको बदनाम हुनबाट बच्न नक्कली भुटानी प्रकरणमा सही तरीकाले बिना दबाब र प्रभाव अनुसन्धान गरौँ र देशलाई बदनाम गर्न खोज्ने राष्ट्रघाती मानव तस्करहरु जो भए पनि कानूनको कठघरामा उभ्याऔं।

राजनीतिक उच्च नेतृत्वले खुट्टा कमाउन लागेको अनुभूति भैरहेकाले खबरदारी गर्न आम नेपाली जनता सडकमा उत्रौं। ब्यापक दबाबमूलक आन्दोलन गरौँ र राष्ट्रघाती मानव तस्कर गर्ने कार्यमा संलग्नलाई जेल हाल्न बाध्य पार्ने गरी आन्दोलनको संखघोष गरौँ।

प्रतिक्रिया