तरकारी बजारमा डोजर लगाएपछि पाँच सय व्यापारीको बिचल्ली

तरकारी बजारमा डोजर लगाएपछि पाँच सय व्यापारीको बिचल्ली


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ फाल्गुन २०७३
  • 17.4K
    Shares

प्रहरीले डोजर लगाएर पसल तथा टहरा भत्काइदिएपछि वीरगञ्जको मुख्य तरकारी तथा माछामासु बजारका झण्डै पाँच सय ब्यापारी बिचल्लीमा परेका छन् । वीरगञ्जको घण्टाघर चोक नजिकैको प्रस्तावित बिपी उद्यानमा रहेको तरकारी, फलफूल तथा माछा मासु बजारमा रहेका टहरा आइतबार बिहान वीरगन्ज उपमहानगरपालिका कार्यालयका कर्मचारी र प्रहरीले डोजर लगाएर भत्काएपछि व्यापाारी मर्कामा परेका हुन्।

उपमहानगरपालिका कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचलान गरेर डोजरको सहयोगमा तरकारी बजारका टहरा भत्काएको हो। बिहान पाँच बजे नै सुरक्षाकर्मीसहित पुगेको उपमहानगरपालिका कार्यालयको डोजरले बजारमा रहेका थोक तथा खुद्रा पसलका टहरा र घर भत्काएको थियो ।

डोजरले बजारका पसल र टहराहरु हटाउने क्रममा स्थानीय ब्यापारी र प्रहरीबीच सामान्य झडप पनि भयो । स्थिती नियन्त्रणमा लिन प्रहरीले ब्यापारीमाथि लाठी चार्ज पनि गरेको थियो । हामी घरमै सुतेका थियौँ, बिहान चार बजे नै प्रहरी र नगरपालिकाले डोजर लगाएर पसल भत्काइदिएको रहेछ । आइतबार बिहान तरकारी बजारमा भेटिएका पसले भोला मियाँले भने, ‘बालबच्चाको मुखमा माड लगाउने यही एउटा पसल थियो, यो पनि भत्काइदियो ।’

प्रहरीको बलमा उपमहानगरपालिका कार्यालयले डोजर लगाएर पसल र टहरा भत्काएपछि आक्रोशित बनेका ब्यापारीले तरकारी र फलफुल फालेर विरोध पनि जनाएका छन् । उपमहानगरपालिका कार्यालयले बिना सूचना आइतबार बिहान उज्यालो नहुँदै डोजर लगाएर पसल र टहरा भत्काएको ब्यापारीको आरोप छ । उनीहरुले उपमहानगरपालिका र प्रहरीको दमन विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् ।

वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष बिदुर गुप्ताले सोमबार बिहानैदेखि आन्दोलनमा उत्रिने बताए । अहिले व्यपारी भत्काइएको पसलको सरसामान मिलाउन व्यस्त छन्’, उनले भने ,‘सोमबार बिहान घण्टाघर चोकमा सबै व्यापारी भेला हुन्छौँ, अनि पूरा बजार बन्द गराउछौँ ।’

गुण्डागर्दी शैलीमा पसल भत्काएको भन्दै संघका महासचिव सन्जय वर्णवालले यसबाट पसले तथा ब्यापारीको करोडौँ क्षति भएको बताए।

प्रतिक्रिया