मेडिकल माफिया दुर्गा प्रसाईंसंग मन्त्री बन्न दुई करोड रुपियाँ माग गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफूमाथि लागेको आरोपलाई घुमाउरो पारामा स्वीकार गरेका छन्। पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको आरोपको घुमाउरो पारामा स्वीकार गरेका हुन्।
पत्रकारहरुसंग कुराकानी गर्दै उनले आफ्नो अडियो एडिट गरिएको दाबी गरिरहदा गएको जनवरी, फेब्रुअरीतिर भएको उक्त अडियो अहिले ल्याएर सार्वजनिक गरिनु पार्टीभित्रको षड्यन्त्र भएको जिकिर गरे। एकातिर उक्त अडियो आफ्नो हुँदै नभएको जिकिर गरिरहेका सांसद श्रेष्ठले आफु र दुर्गा प्रसाईंबीच गएको जनवरी फरवरी महिनामा टेलिफोन वार्ता भएको स्वीकारेका छन्।
उनले जनवरिमा भएको अडिओ अहिले सार्वजनिक गरेर पार्टीमाथि प्रहार गरेको टिप्पणी गरे। उनले अडिओको बिषयमा न्यायलयमा गइसकेकाले क्लिन चिट लिएर आउँने बताए।
अडिओबारे उनले भने, ‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु त्यतिबेलासम्म धैर्य गर्नुहोला । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्राथी छु । यो अडिओलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला । यो अडिओ केही पनि होइन । सुनियोजित रुपमा ल्याइएको हो । फसाइएको हो । लगभग जनवरी, फेब्रुअरीतिर भएको अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई सुनियोजित रुपमा चारैतिरबाट प्रहार गरेको हो । पार्टीको तीनैवटा क्षेत्रका उम्मेदवारलाई हराउने योजना हो । त्यसैले हामीलाई माया गर्नेहरुले हाम्रा तीनैवटा क्षेत्रका उम्मेदवारहरुलाई जिताइदिनुहोला ।’
तपाईंको आफ्नै कुरा बाझिएको छ, जनवरीमा भएको अहिले ल्याइएको भन्नुभयो, यथार्थ के हाे भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिएनन् ।