सुन्दर पोखरामा विकृति फैल्याई शहरका विभिन्न ईलाकामा अवैधरुपमा यौन व्यवसायमा संलग्नहरुलाई कास्की प्रहरीले कार्वाही गर्न थाले पछि जवर्जस्ती यौन व्यवसायमा लगाईएका युवतीहरुमा आफूलाई परेको शोषणका विरुद्व प्रहरीमा जाहेरी दिने कार्यमा समेत वृद्वि भएको छ । नेपाली समाजमा व्याप्त वेरोजगारी र आर्थिक विपन्नताका कारण रोजगारीको खोजीमा शहर पस्ने युवतीहरुलाई छिट्टै पैसा कमाईने राम्रो कामको प्रलोभन दिई जवर्जस्ती यौन कार्यमा लगाउने, श्रम तथा यौन शोषण गर्ने पोखराका विभिन्न होटल संचालकहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मुस्ताङ लेते-४ घर भई पोखरा-१ हरिचोक स्थित अमृता रेष्टुरेण्टका संचालक वर्ष ४० की विष्णु गौचन, निज बिष्णु गौचनका श्रीमान लक्ष्मण गौचन र कास्की पोखरा-१० बस्ने पर्वत मुना होटलकी संचालक बर्ष ४६ की गौमती गुरुङ रहेका छन् ।
अभियुक्तहरुले सुरुमा घर तथा होटलका सामान्य कामहरु खाना बनाउने, भाडा माझ्ने, सरसफाई जस्ता काममा लगाउने र विस्तारै होटलमा आएका ग्राहकसंग जवरजस्ती यौन कार्यमा लगाउने गरेको पिडितहरुले बताएका छन् ।
पिडित ६ जना युवतीहरुको जाहेरीको आधारमा पोखरा-१ हरिचोक स्थित अमृता रेष्टुरेण्ट तथा पोखरा १०-रामबजार स्थित पर्वत मुना होटलका संचालकहरुलाई कास्की प्रहरीले मिति २०७३।०१।१४ गते पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट मानव वेच विखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।