सांसद डा. ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने रबि लामिछानेको घोषणा (भिडियो)

सांसद डा. ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने रबि लामिछानेको घोषणा (भिडियो)


  • जन संचार
  • सोमबार, २७ चैत्र २०७९
  • 4.4K
    Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमाथि ७२ घन्टाभित्र कारबाही गर्ने घोषणा गरेका छन्।

आइतबार दिउँसो बारामा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले पार्टीले श्रेष्ठलाई स्पष्टीकरण सोधेको २ घन्टा बितिसकेको र अब ७० घन्टा बाँकी रहेको बताए।

‘तपाईंहरूलाई म स्पष्ट पार्न चाहन्छु- भष्टाचारका विषयमा हाम्रो भनाइ, हाम्रो गराइ र हाम्रो कुरा सधैं एउटै हो। चाहे जसले गरोस् कुनै सरोकारको विषय हुँदैन,’ उनले भने,‘त्यो अडिओ सार्वजनिक हुनेबित्तिकै पार्टीलाई निर्देशन दिएको छु- ७२ घन्टाभित्र छानबिन गरेर कारबाही अगाडि बढाउनू भनेर। ७२ घन्टाको अल्टिमेटम दिएको छु।’

यो देशका भष्टाचारका काण्डहरू ७२ वर्षदेखि अल्झिएका भए पनि आफ्नो पार्टीभित्र प्रश्न उठेपछि त्यो प्रश्नको निराकरण हुने उनले बताए। ‘यो ७२ घन्टाभित्र छानबिन नहुन्जेल सांसदको रूपमा वा साधारण सदस्यका रूपमा हामी हाम्रा सांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई कहीँ पनि पठाउने छैनौं। कुनै कार्य गर्न दिने छैनौं। र, मैले ७२ घन्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको २ घन्टा भइसक्यो ७० घन्टा बाँकी छ,’ लामिछानेले भने,‘७० घन्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बली दिनुहोला। त्यो अडिओमा भनिएको छ, मेरा वरपरका मान्छेले मागेका रहेछन् भनेर। मेरा वरपरका माग्ने मान्छे को रहेछन् तिनलाई तपाईंको आँगन, सडकमा घिसारेर ल्याउन सकिनछु भने फेरि पनि मलाई तपाईंले भनेको सजाय दिनुहोला। ७० घन्टाभित्र। घडी हेर्नुहोला, कति बज्यो गन्दै गर्नुहोला।’

विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका सांसद डा. ढाका कुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । डा. श्रेष्ठको स्वरमा स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।

कपुरबोट मिडियाले  श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।

अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। सेतोपाटीसँग कुरा गर्दै रास्वपा संसदीय दलका नेता डिपी अर्यालले अडियोबारे जानकारी आएको बताए।

‘मिडियामा आएको अडियो हामीले पनि  सुन्यौं, यसबारे पार्टीमा छलफल भइरहेको छ,’ अर्यालले भने।

सार्वजनिक भएको अडियोमा प्रसाईं र श्रेष्ठले गरेको कुराकानीको अंश:

दुर्गा प्रसाईं: ए नमस्ते के छ हालखबर?

ढाकाप्रसाद: म पनि भर्खर-भर्खर उठेको।

दुर्गा: ए अनि त्यही त मैले पनि राति फोन अफ गरेँ। अफ भनेको सुत्न टाइम भएर चार्ज गरेर सुतेँ। अनि खासचाहिँ के हो कुरा अलिकति भन्नु त डाक्टर साब।

ढाकाप्रसाद: स्वास्थ्य हामीले पाउने भयो… कोर टिम छ। दुई तीन जनाको। तिनीहरूले भनिराखेका छन्। दुई जति चाहियो भनेर मलाई हिजो। मेरो पक्काचाहिँ पक्का भयो। आज मैले फिक्स गर्नुछ के सर। अब म फेरि आर्थिकमा त्यस्तो साह्रै उ छैन। मन्त्री पनि बन्नुपर्‍यो। फेरि यो स्वास्थ्य क्षेत्र धोइपखाली गरेर, पूरा सुधार पनि गर्नुछ। मैले धेरै गर्नुपर्छ भनेर सोच गरेको छु। त्यसमा अब हजुरहरूको साथ, सहयोग, चाहियो भन्नेकुरा हो के अब।

दुर्गा: मैले एउटा कुरा बुझ्न खोजेको डाक्टरसाब, राष्ट्रिय स्वतन्त्र पार्टीमा म त डाक्टर भनेको तोसिमा कार्की मात्रै छिन् भनेर बुझेको थिएँ त।

ढाकाप्रसाद: हैन नि। हामी तीन जना छौं।

दुर्गा: को-को छन्?

ढाकाप्रसाद: म भएँ, तोसिमा र चन्दा कार्की।

दुर्गा: ए चन्दा म्याम पो हुनुहुन्छ त है। डाक्टर साबको घर कहाँ हो?

ढाकाप्रसाद: मेरो घर पोखरा हो सर।

दुर्गा: अनि एमबिबिएस कहाँ गरेको?

ढाकाप्रसाद: मैले चाइनामा…

दुर्गा: अनि एमडी?

ढाकाप्रसाद: अहिले मैले एमडी गरेको छैन। एमबिबिएसमात्रै हो। पछिचाहिँ अर्कै पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ।

दुर्गा: अब हेर्नुस् है धेरै समस्या छ स्वास्थ्य क्षेत्रमा। अब देशमा भएका सबै नर्सिङ कलेज बन्द गराए। आज नर्स पढ्न पाउँदैनन्। मैले त जहिल्यै भनेको छु नि। दुबईमा चेलिबेटीले डान्सबारमा डान्स गर्नुभन्दा नर्स पठाऔं। हो कि हैन। भन्नु त।
विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ। पढाऔं। कति राम्रो कुरा गरेको मैले। अहिले त मैले डाक्टर उत्पादन गरौं। बरू सय वटा मेडिकल कलेज खोलौं। होकि हैन।

ढाकाप्रसाद: हो, हो। हो नि।

दुर्गा: … अनि डाक्टरसाबको नाम ढकबहादुर कि के हो?

ढाकाप्रसाद: ढाकाकुमार श्रेष्ठ।

दुर्गा: ढाकाकुमार श्रेष्ठ। अच्छा मैले कुरा बुझेँ। सल्लाह गरेर अघि बढौंला। अनि फेरि। तपाईंसँग मैले भन्‍न खोजेको। अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा।

ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…

दुर्गा: ए।

ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई-तीन जना छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन..

दुर्गा: आज फेरि बन्द छ। सुन्नुस है। कुरा। बैंकबाट ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन। हेर्नुस् है। अब क्लियर कुरा। म दिन्छु। म सहयोग गर्छु। तपाईंले भनिहाल्नुभयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।

ढाकाप्रसाद: हैन त्यो त म गर्छु। मलाई त यो दिक्क लाग्छ के गोविन्द केसी देखेर नि। कहिले मर्छजस्तो लाग्छ। एमबिबिएस पढ्न नपाएको पनि तिनैले नै गर्दा हो।

दुर्गा: अनि मैले मेरो छोरीलाई टोकियो पठाउनुपर्‍यो तीन करोड तिरेर एमडी गराउनको लागि। यहाँ आफ्नोमा रेडिएसन अन्कोलोजी पढाउन पाइन मैले।

ढाकाप्रसाद: त्यही त सर। यो बेथिति छ।

दुर्गा: मेरो त हेर्नुस् न कति मरेको छु। मेरो मेडिकल कलेज हेर्नुस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अन्चलमा ३२ लाख पपुलेशन छ। म मरेको छु कि छैन भन्नुस् त। म त मर्न मात्रै बाँकी छ।

ढाकाप्रसाद: त्यही त। यो हटाउनुपर्छ यस्तो कुराहरू। यसको समाधान गर्नुपर्छ।

दुर्गा: अनि शिक्षाचाहिँ कसले लिने भयो सर? भाइ?

ढाकाप्रसाद: शिक्षा हामीलाई परेनजस्तो छ सर।

दुर्गा: शिक्षाचाहिँ सायद हजुरबुवाले राखेका होलान्।

ढाकाप्रसाद: अँ होला।

दुर्गा: किनभने मलाई अफिलियसन दिनुपर्नेछ हजुरबुवाले। अब किनभने सबैकुरा सक्केको छ हौ काठमाडौं युनिभर्सिटीले नि तपाईको अफिलियसन दिएको छ। सिट मात्रै तोकेको छैन। नारायणकाजीको मान्छे हो नी त्यो गिरी। त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्‍यो।

ढाकाप्रसाद: ल निश्चिन्त हुनुहोस्। तपाईं म मिलेर काम गर्ने हो।

दुर्गा: भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ। भोलि बेलुकी नै म काठमाडौं आउला। अब तपाईंलाई गर्ने सहयोग म गर्छु। तपाईंले जुन भन्नुभयो नि दुई। म आएर गरौंला। तर अलिकति टाइम लाग्छ है पैसा त्यत्तिकै निस्किँदैन। हचुवामा। मिलाएर निकाल्न पर्छ। बैंकले जम्मै सिस्टम खोज्छ। त्यति सजिलो छैन। बाकसमा भ्वाकभ्वाक निकालेर गाह्रो छ। कुरा बुझ्नुभयो के। कसैले पनि दिन सक्दैन आजको आज पैसा।

दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन?

ढाकाप्रसाद: अँ.. मैले रवि सरलाईभन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।

दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन?

तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है। अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नि? तोसिमा कार्कीले?

ढाकाप्रसाद: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।

दुर्गा: ए… ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नि कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।

ढाकाप्रसाद: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।

यसबारे कुरा गर्न खोज्दा व्यवसायी प्रसाईं र सांसद श्रेष्ठले फोन उठाएनन्।

सहकारीको पैसा अपचलन गरेको मुद्दामा सांसद श्रेष्ठ यसअघि पनि विवादमा आएका थिए। उनी अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको ८२ लाख रुपैया अपलचन गरेको मुद्दा उनीमाथि छ।

पढ्नुस्:

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको ८२ लाख अपचलन मुद्दा के हो?

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सांसदको सूचिमा पर्नुअघि ढाकाकुमार श्रेष्ठ पोखरामा सहकारी चलाउँथे। २०५९ सालमा श्रेष्ठकै अगुवाइमा स्थापना भएको साथी किसान कृषि सहकारी खोलेर उनी त्यसको अध्यक्ष बने।

पार्टीबाट समानुपातिक उम्मेदवार बनेपछि मात्र उनले सहकारी छाडेका थिए। त्यसअघि सहकारीका अविछिन्न अध्यक्षका साथै सबै आर्थिक कारोबार उनले चलाउँथे।

उनी सांसद भएको दुई महिना पनि नपुग्दै सहकारी चल्न सकेन। त्यसका शेयर सदस्यले बचत गरेको रकम पाएनन्। उनीहरुले पोखरा महानगरको सहकारी महाशाखामा उजुरी दिए।

पोखरा– ८ रत्नचोकमा कार्यालय रहेको सहकारीले बचतकर्ताको ८२ लाख ७२ हजार २०० रूपैया भुक्तानी गर्न बाँकी रहेको सहकारीले जनाएको छ। जुन रकम शेयर सदस्यले बचत राखेका थिए। उक्त रकम सहकारीमा नभएपछि अहिले बन्द छ।

सहकारीका संस्थापक अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले उक्त रकम हिनामिना गरेको सहकारीका शेयर सदस्यहरुले बताएका छन्। गत कात्तिक ७ गतेको अधिवेशनबाट चयन भएका कार्यसमितिले पनि उक्त रकमको हिसाब नपाएको भन्दै कारोबार ठप्प भएपछि सांसद श्रेष्ठलाई आर्थिक अपचलनको आरोप लागेको छ।

श्रेष्ठ भने आफूले अपचलन नगरेको बताउँछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि गण्डकी प्रदेश समितिका सभापति बनेका उनले सहकारीका उपाध्यक्ष चेत हमाललाई कार्यबवहाक अध्यक्ष सुम्पिएका थिए।

‘मैले जिम्मेवारी सम्हाल्दा सबै हिसाब मैले राख्थेँ, बिल, भर्पाइमा पनि मैले नै हस्ताक्षर गर्थेँ,’ उनले भने, ‘अडिट रिपोर्टदेखिका प्रतिवेदन बुझाएको थिएँ। बुझबु्झारथ गर्नुपर्ने थाहा थिएन। अपचलन गरेको होइन।’

पार्टीबाट समानुपातिक सूचिमा परेपछि कात्तिक ७ गते श्रेष्ठले सहकारीको अधिवेशन गराए। शनी पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भयो। अधिवेशनले अडिट रिपोर्टदेखि सबै प्रतिवेदन पारित गर्‍यो। श्रेष्ठ सहकारीको नेतृत्वबाट बाहिरिए।

अधिवेशन गरेर सहकारीको नेतृत्व हस्तान्तरण गरे पनि उनले सहकारीको आर्थिक लगायत कारोबारका बुझबुझारथ गरेनन्। सहकारीका नयाँ कार्यसमितिले पनि बुझबुझारथ नपाएको भन्दै सहकारी चलाउन सकेनन्।

सहकारी चल्न नसकेपछि बन्द हुने र खुल्ने क्रम चल्यो। सहकारीमा आवद्ध १०५ जना शेयर सदस्यले आफ्नो हिसाब खोज्न थाले। श्रेष्ठका कारण आफ्नो हिसाब चुक्ता हुन नसकेको भन्दै उजुरी गरेका हुन्।

सहकारीले आर्थिक अपचलन गरेको भन्दै महानगरको शहकारी महाशाखामा बिहीबार छलफल गरेर ३ महिनामा समस्या समाधान गर्ने निर्णय गरेको सहकारीका अध्यक्ष पाठकले बताए।

सहकारीले बजारबाट उठाउनुपर्ने रकम उठाउन छाडेर बन्द गरेका कारण समस्या आएको उनले बताए। अब सहकारी खुल्ने र बजारबाट उठ्न बाँकी रकम उठाएर बचतकर्तालाई फिर्ता गर्ने श्रेष्ठले बताए। उनका अनुसार बजारबाट सहकारीको १ करोड बढी रकम उठ्न बाँकी छ।

सहकारीबाट रकम लगेका केही व्यक्तिको चेक बाउन्स भएकाले कानुनी प्रक्रियामा जाने र बजारबाट उठ्न बाँकी रकम उठाउन लाग्ने उनले बताए।

सहकारीका अध्यक्ष बन्नुअघि श्रेष्ठले पोखराको कास्कीकोटमा कृषि फार्म खोलेका थिए। कृषि फार्ममा पालिएको कुखुरा बेच्दा घाटामा गएकाले सहकारी खोलेको उनले बताए।

‘मेरो फार्मबाट कुखुरा बेच्दा घाटामा गयो, यसबारे अध्ययन गर्दा विचौलियाका कारण घाटा परेको रहेछ,’ उनले भने, ‘त्यसपछि साथीसँग सल्लाह गरेर किसानको आफ्नै सहकारी खोल्ने, दाना र चल्ला पनि आफैं वितरण गर्ने उद्धेश्यले सहकारी खोलेका हौं।’

यसरी सहकारी खोलेर दाना र चल्ला वितरण गर्दै आएको उनले बताए। सहकारीमार्फत किसानलाई दाना र चल्ला मात्र होइन, कुखुरा खरिद गरेर मासु बेच्दा घाटा लागेको उनको भनाई छ।

‘हाम्रो सहकारीलाई एक पटक दाना गुणस्तरको नभएर घाटा लाग्यो, त्यसले अलिकति समस्या छ, अर्को मासु बेच्दा पनि घाटामा गयो,’ उनले भने, ‘सहकारी नै बन्द गर्नुपर्ने गरी घाटा भएको होइन, बजारबाट पैसा नउठेर समस्या भएको हो।’

सहकारीबाट ऋण लगेका व्यक्तिले पैसा फिर्ता नगरेका कारण समस्या परेको सहकारीका हालका अध्यक्ष डा. पाठक बताउँछन्। पैसा उठाउन पूर्वअध्यक्ष श्रेष्ठले बुझबुझारथ नगर्दा उठाउन नसकेको भन्दै उनले अब समस्याको समाधान हुने बताए।

यता, सोही सहकारीमा व्यवस्थापक भएर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको पैसा हिनामिना हुनुमा संस्थाका सञ्चालक समिति नै दोषी रहेको बताएका छन्। सहकारीको व्यवस्थापक भएपछि आफूलाई १० लाख रूपैयाँ ल्याउन भनेपछि जागिर छाडेर हिँडेको उनले बताए।

‘मलाई २५ हजार तलबमा म्यानेजर राखिएको थियो, पछि १० लाख ल्याउन भनेपछि राजिनामा दिएँ,’ उनले भने।

उनका अनुसार सहकारीका सञ्चालक समितिले नै लगेको ऋण समयमा फिर्ता गरेका छैनन्। पटक पटक बैठक राख्दासमेत सञ्चालक समितिका सदस्यहरु नआउने र लगेका रकम फिर्ता माग्दा पनि नदिएको उनले बताए। संस्थाका सदस्यले ३० लाख रूपैयाँसम्म ऋण लगेर पनि फिर्ता नदिएको उनको भनाई छ।

‘सहकारी डुब्नुमा सञ्चालक समिति र शेयर सदस्यको दोष छ,’ उनले भने, ‘बैठकमा पनि नआउने, लगेको पैसा पनि फिर्ता नगर्ने भएपछि कसरी सहकारी चल्छ?’

उनले सहकारीबाट ऋण प्रवाह गर्दा धितो नराखेको समेत बताए।

यता, सहकारीका संस्थापक अध्यक्ष एवं सांसद श्रेष्ठले केही शेयर सदस्यले दिएको चेक बाउन्स भएको र त्यसलाई कानुनी प्रक्रियामा लैजाने तयारी गरेको बताए।

‘अब जसरी पनि पैसा उठाएर बचतकर्तालाई तिर्नुपर्छ,’ उनले भने, ‘मैले एक पैसा पनि खाएको छैन, ज-जसले लगेर फिर्ता गरेका छैनन्, कानुनी उपचारबाट भए पनि फिर्ता गराइछाड्छौं।’

प्रतिक्रिया