भरूवा बन्दुक पड्किँदा सल्यानमा एक बालिकाको मृत्यु भएको छ भने थप तीन जना बालबालिका घाइते भएका छन्। कालिमाटी गाउँपालिका– ७ का बेलबहादुर आलेको घरको आँगनमा सोमबार बेलुका ६ बजेतिर भरूवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका हुन्।
भरुवा बन्दुक पड्किदा कालिमाटी गाउँपालिका– ७ की नौ वर्षीया पूजा घर्तीको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिए। घाइतेमध्ये पाँँच वर्षीया यमुना आलेको अवस्था गम्भीर छ। उनको उपचार काठमाडौंमा भइरहेको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार, घटनामा परी घाइते भएकी तीन वर्षीया देवी घर्तीलाई मंगलबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजले डिस्चार्ज गरेको छ । अर्का घाइते बालक ८ वर्षीय तेजेन्द्र आलेको अवस्था भने सामान्य भएकाले स्थानीय स्तरमै उपचार भइरहेको उनले जानकारी दिए।
सोमबार बेलुका ६ बजेतिर स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका उनीहरूलाई भरूवा बन्दुक पड्केर छर्राहरू लागेको श्रेष्ठले बताए। बेलबहादुर आलेलाई भरूवा बन्दुकसहित नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
बेलबहादुरलाई मंगलबार बेलुका मात्रै इलाका प्रहरी कार्यालय लुहामको टोलीले ल्याइपुर्याएको र थप अनुसन्धान हुन बाँकी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। सांकेतिक तस्बिर