चर्चित संचारकर्मी अपिल त्रिपाठीले कास्की मालपोतका कर्मचारीले लिएको घुस रकम फिर्ता गरिदिएका छन्।
श्रेस्ता उतार गरे बापत भन्दै लमजुङका टकबहादुर सार्कीसंग लिएको एक हजार पांच सय रुपियाँ जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको कार्यकक्षमा लगेर चर्चित संचारकर्मी त्रिपाठीले तीन जना कर्मचारीबाट फिर्ता गराएका हुन्।
गण्डकी छड्के नामक अनलाइन टेलिभिजनमा प्रशारित सामाग्रीका अनुसार, लमजुङ्का सार्कीले अंशबण्डाबाट प्राप्त दुई वटा जग्गाको श्रेस्ता उतार गर्न खोज्दा मालपोतका कर्मचारी प्रेम प्रसाद बास्तोलाले शुरुमा दुई हजार रुपियाँ मागेका थिए। तर पछि एक हजार पांच सय रुपियाँ मागेका भिडियोमा देखिएको छ।
उक्त अनलाइन टेलिभिजनमा प्रशारित सामाग्रीमा बासोलाले लिएको एकहजार पांच सय रुपियाँ मध्ये पांच-पांच सय रुपियाँ आफुहरुले लिएको उद्धब ढुंगेल र गोबिन्द प्रसाद अर्याल नामका कर्मचारीहरुले लिएको स्वीकार गरेका छन्।
दुई वटा श्रेश्ताको दुई हजार रुपियाँ राजस्व बैंकमा बुझाएर कर्मचारॆहरुसमक्ष भौचर दाखिला हुनुपर्नेमा उनीहरुले नगद रकम लिएर सरकारी खातामा दाखिला नगरेको प्रष्ट देखिएको छ।
आफूहरुले घुस लिएको स्वीकार गरेका कर्मचारीहरुल्ले कार्यालय प्रमुख अधिकारीको कार्यकक्षमा गएर कार्यालय प्रमुख अधिकारीहरुको निर्देशनमा आफूहरुले लिएको घुस रकम सम्बन्धित सेवाग्राही टकबहादुर सार्कीलाई बुझाएका छन्।