तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पानी जहाज (क्रुजसीप) विसं २०७६ फागुनदेखि नारायणी नदी किनारमा अलपत्र परेको छ ।
कहिले नीतिगत विषय, कहिले कोरोना र कहिले आर्थिक कारण देखाउँदै निर्माण कम्पनीले बिगत तीन वर्षदेखि सञ्चालन गर्न नसकी सानो पानी जहाज (क्रुजसीप) नदीकिनारमा अलपत्र पारेको हो ।
भरतपुर महानगरपालिका–१६ काभ्रेघाटमा रहेको क्रुजसीप निर्माणको काम सकिएको भन्दै दुई वर्षअगाडि सञ्चालन गर्ने भनिए पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । यसको प्रबन्ध निर्देशक रामचन्द्र कँडेल पनि यसबारेमा चासो राख्दा फोनसम्म उठाउँदैनन् ।
२०७४ सालमा केपी ओलीको सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै नारायणीमा बन्दै गरेको सानो पानी जहाजले विशेष चर्चा पाएको थियो । गृहमन्त्रीदेखि बागमती प्रदेशका मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीहरुले बन्दै गरेको पानीजहाजको पटकपटक अवलोकन गरेका थिए । यसको परीक्षण पनि गरिएको थियो । तर यो पानी जहाजमा अहिले कहिलेकाहीँ चलचित्र सुटिङ गर्ने र फोटो खिच्ने भन्दा बढी काम केही हुन सकेको छैन ।
क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले दुई वर्ष अगाडि नै मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै २०७६ फागुनदेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिएका थिए । उनले अनलाइन बुकिङको घोषणा गर्दै १० दिनभित्र बुकिङ गर्ने बताए तर पानी जहाज सञ्चालनमा आएन । पछि कँडेलले कोरोनाले गर्दा काम गर्न नसकिएको जानकारी दिएका थिए । कोरोना महामारी सकिएर पर्यटकीय गतिविधि सुचारु हुदा पनि पानी जहाज सञ्चालनमा आउन सकेन ।
चितवनको पर्यटकीय गतिविधिमा कायापलट नै ल्याउने आशा गरिएको पानी जहाज तीन वर्षदेखि नदी किनारमा अलपत्र पर्दा स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाहरु पनि आश्चर्यमा परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष अमृत हमालले सञ्चालनबारे आफूलाई केही जानकारी नभएको बताए । उनले भने, ‘ धेरै लामोसमयदेखि सञ्चालनमा किन आउन सकेन भन्ने मलाई थाहा भएन । कम्पनी नै अर्काे कसैलाई जिम्मा लगाएको भन्ने सुनेको हो । तर, कसलाई बेचेको हो भन्ने केही जानकारी छैन ।’