स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित


  • जन संचार
  • शनिबार, १७ मंसिर २०७९
  • 5.1K
    Shares

धनराज गुरुङ, महेश भट्टराई

स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मतगणनामा धनराजले ३१ हजार चार सय ६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार आठसय ३९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । उनीहरुबीचको मतान्तर पांच हजार छ सय २७ रह्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले आठ हजार एकसय १३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे उक्त क्षेत्रमा ७० हजार एक सय ९१ मत खसेको थियो ।

यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेकी थिइन् । तर यसपटक गोपालमानले प्रत्यक्ष चुनाव लडेनन् भने धनराज सोही क्षेत्रमा उम्मेदवार बने ।

मंसिर ४ गते भएको मतदानका क्रममा नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगले मंसिर १४ गते पुनः मतदान नगर्ने निर्णय गर्‍यो । त्यसपछि मतगणना सुरु भएको थियो ।

स्याङ्जा २ अन्तर्गतको दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । स्याङ्जा २ (१) बाट भोजराज अर्याल र (२) बाट महेश भट्टराई निर्वाचित भएका हुन् । प्रदेश सभामा कांग्रेसका भोजराजसंग एमालेका मोहन रेग्मी र भट्टराईसंग बुद्विमान श्रेष्ठ पराजित भए ।

स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजु थापाले एमालेका नारायण प्रसाद मरासिनीलाई पराजित गरे । थापाले ३१ हजार नौसय ९९ मत पाउँदा एमालेका मरासिनीले २८ हजार सातसय ४४ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी छहजार ६५ मतका साथ तेस्रो भए ।

सोही क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर १ तर्फ एमालेकी सीता कुमारी सुन्दास १४ हजार छसय ९० मतका साथ विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी अमृता थापाले १३ हजार दुईसय ६७ मत प्राप्त गरिन् । यसैगरी राप्रपाका सूर्यलाल श्रेष्ठ एक हजार पाँचसय ११ मत पाएर तेस्रो बने ।

यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ मा पनि कांग्रेसका बुद्धि बहादुर रानालाई पराजित गर्दै एमालेका सुधीर कुमार पौडेल विजयी भए । पौडेलले १७ हजार चारसय ४१ मत ल्याएर विजय हासिल गर्दा रानाले १४ हजार चारसय ३५ मत पाए । राना जम्मा ६ मतले पराजित भएका हुन् ।

प्रतिक्रिया