स्याङ्जा २ को मतगणना तत्काल शुरु गर्न सत्तारुढ गठबन्धनको माग : उम्मेदवार धनराज गुरुङ नै बसे धर्ना

स्याङ्जा २ को मतगणना तत्काल शुरु गर्न सत्तारुढ गठबन्धनको माग : उम्मेदवार धनराज गुरुङ नै बसे धर्ना


  • जन संचार
  • मंगलबार, ६ मंसिर २०७९
  • 4.1K
    Shares

स्याङ्जा क्षेत्र नं २ को मतगणना शुरु गर्न गठबन्धनमा आवद्ध पाँच दलले माग गरेका छन् । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, जिल्ला समन्वय समिति नेकपा माओवादीका संयोजक प्रकाश न्यौपाने किरण, नेकपा माक्सवादी (पुष्पलाल) का अध्यक्ष डोलराज विक र नेपाल समाजवादी पार्टीका अध्यक्ष ख्याम नारायण ढकालले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मतगणना अब कति पनि ढिलाई नगरि तुरुन्त प्रारम्भ गर्न माग गरेका हुन् ।

“सार्वभौम जनताले संविधान बमोजिम व्यक्त गरेको आत्मनिर्णयको अधिकारलाई मतपेटिकामा व्यक्त गरिसकेको अवस्थामा मतपेटिका मतगणना स्थलमा आइसकेपछि तुरुन्त मतगणना प्रारम्भ गरी जनताको निर्णय सार्वजनिक गरिसक्नुपर्नेमा “मतगणनामा अवरोध उत्पन्न गर्ने मनसायले मतगणना रोकिनु हालसम्म पनि मतगणना प्रारम्भ नगर्ने प्रवृति प्रति लोकतान्त्रिक वाम गठबन्धनमा आवद्ध दलहरु दुःख व्यक्त गर्न चाहन्छौँ ।” उक्त बिज्ञप्तिमा भनिएको छ।

निर्वाचन निर्देशिका प्रचलित निर्वाचन ऐन कानुन र विगतका निर्वाचनका मतगणना नजिरहरुलाई अक्षरश पालना गर्दै तुरुन्त मतगणना प्रारम्भ गर्न पनि सोही विज्ञप्तिमार्फत जोडदार माग पनि गरिएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् । नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका हुन् ।

मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले जनाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै समस्या निर्वाचन अयोगलाई जानकारी गराएको भन्दै अब आयोगको निर्णय अनुसार अघि बढ्ने बताए ।

स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले आवश्यक निर्णय दिइसकेपछि मात्रै अन्य प्रक्रिया अगाडि बढने प्रजिअ क्षेत्रीले बताए ।

प्रतिक्रिया