गुल्मीमा ७४ वर्षीया एक बृद्धा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । इस्मा गाउँपालिका–५ इस्मा रजस्थलकी ७४ वर्षीया जिवकला थापा सोमबार आफ्नै घरमा मृत फेला परेकी हुन् ।
थापाको मृत्यु रहस्यमय देखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको प्रहरीले बताएको छ ।
वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । प्रहरी प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । थप विवरण भने शव पोस्टमार्टम तथा अन्य अनुसन्धानले खुलाउने प्रहरीले जनाएको छ ।