दाङको दमार गाउँका प्रेमीजोडी शरद-रोशनी मृत्यु प्रकरण : चार जना अभियुक्त सार्वजनिक

दाङको दमार गाउँका प्रेमीजोडी शरद-रोशनी मृत्यु प्रकरण : चार जना अभियुक्त सार्वजनिक


  • जन संचार
  • सोमबार, २१ कार्तिक २०७९
  • 4.7K
    Shares

दाङको तुलसीपुर १३ दमारगाउँस्थित जनकल्याण सामुदायिक वनको जङ्गलमा मृत भेटिएका १४ वर्षीय शरद आचार्य र १५ बर्षीया रोशनी महताराको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

उनीहरुको बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले विद्युतीय पासो थाप्ने कार्यमा संलग्न भनिएका तुलसीपुर १३ निवासी ३९ बर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बूढा र ४७ वर्षीय प्रकाश भन्ने अम्मर राज कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरमा आइतबार गरिएको पत्रकार सम्मलेनमा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बीरबहादुर वलीले बँदेल मार्नका लागि थापेको विद्युतीय पासोमा परेर दुवैजनाको मृत्यु भएको जानकारी दिए ।

गएको असोज २७ गते घरबाट हराएका तुलसीपुर उपमहानगरपालिका – १३ डाँडागाउँ स्थित १५ बर्षीया रोशनी महतारा र दंगीशरण गाउँपालिका– ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्य असोज ३० गते जनकल्याण सामुदायिक वनको जङ्गलमा एउटै खाल्डोमा मृत भेटिएका थिए । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युत पासो लिएर नजिकैको जंगलमा बदेल मार्नकालागि पासो थापेको र त्यही पासोमा परेर उनीहरूको राति नै मृत्यु भएको प्रहरीले बताएको छ । पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिश चन्द्र पौडेल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला पारेका थिए ।

प्रहरीका अनुसार दुवैजनाको मृत्यु भएपछि अपराध लुकाउन चारैजना मिलेर जङ्गलको खोल्सामा लगेर गाडेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । घटना लुकाउन उनीहरूसँग भएका मोबाइल र चप्पललाई समेत जङ्गलको झाडीमा लुकाई छिपाई राखिएको थियो । पक्राउ परेका चारजनाले लुकाई छिपाई राखेको अवस्थामा करेन्ट लगाउन प्रयोग भएको विजुलीको वाइरिङ तार ७६ मिटर १ इन्च, साना ७ वटा बाँस, फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा १ थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अवस्थामा भेटिएको थियो । उनीहरु चारैजनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पर चालकहरु निर्दोश देखिए

पक्राउ परेका टिप्पर चालकबाट घटनाको नजिक पुगेको प्रहरीले भने उनिहरुलाई सार्वजनिक गरेन । ति टिप्पर चालककै बयानका आधारमा थप अर्का ब्यक्ती पनि पक्राउ परे । तर, ति दुबै जना निर्दोष देखिए । प्रहरीका अनुसार एक टप्पर चालकले आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर, अनुसन्धान गर्दै जाँदा उनीहरु दुबैजनाले हत्या गरेको पुष्टि भएन । प्रहरीले पोष्टमार्टम रिपोर्टलगायतका अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट निर्दोष देखिए । उनीहरु निर्दोष देखिएपनि प्रहरीको हिरासतमै छ । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो, भने काठमाडौंबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुर समेत ल्याईएको थियो । उनीहरु दुवैजनाको पोष्टमार्टम पछि एकै स्थानमा बबईमा अन्त्येष्टी गरिएको थियो । घटनाको वास्तविकता पत्ता लगाउने प्रहरीले ७० जनालाई प्रत्यक्ष र टेलिफोन माफर्त ४७८ जनासंग सोधपुछ गरेको थियो । स्थानीय गाँउलेले केटी चिच्याएकाे आधारमा खाेज्दै जाँदा दुवैजनाकाे शव भेटिएकाे थियाे ।

प्रतिक्रिया