सकियो अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको मुद्दाको बहस, आदेश आउंदै

सकियो अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको मुद्दाको बहस, आदेश आउंदै


  • जन संचार
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 7.5K
    Shares

क्रिकेटर सन्दीप लामिछाने

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो । केहीबेरअघि बहस सकिएसँगै अहिले न्यायाधीशले थुनछेक आदेशको तयारी गरेका छन् ।

बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।

सन्दीपको तर्फबाट बहस गरिरहेका वकिलहरूले पहिलो राउन्डमा पीडित भनिएकी किशोरीको उमेरमाथि प्रश्न उठाएका छन् ।
कानूनतः १८ वर्षभन्दा कम उमेरको व्यक्तिलाई नाबालिग मानिन्छ र नाबालिग किशोरसँग सहमतिमा राखिएको सम्बन्ध पनि बलात्कारमा दरिन्छ । तर, १८ वर्ष काटेको वा बालिग किशोरी/युवतीसँग सहमतिमा राखिएको सम्बन्ध बलात्कार मानिँदैन । सन्दीपका वकिलहरूले यही कानूनी व्यवस्थाको जगमा टेकेर सन्दीपलाई निर्दोष देखाउन खोजेका थिए ।

दुई दिन भएको बहसमा सन्दीपका वकिलहरूले किशोरीले उमेर घटाएर नागरिकता बनाएको प्रमाण अदालतमा पेश गरेको बताइएको छ । उनीहरूले पेश गरेको प्रमाण कति बलिया र विश्वसनीय हुन् भन्ने अदालतले निर्क्यौल गर्नेछ । जन्मदर्ता प्रमाणपत्रमा गलत उमेर राखेको र त्यसकै आधारमा नागरिकता लिएको पुष्टि भए त्यो कानूनतः दण्डनीय पनि हुन्छ ।

नेपालको नागरिकता ऐन २०६३ मा झूटो विवरण दिएर नागरिकता बनाउनेमाथि सजायको व्यवस्था गरिएको छ । ऐनको दफा १२ मा कुनै नेपाली नागरिकले झूटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आएमा तोकिएको अधिकारीले त्यस्तो नागरिकताको प्रमाणपत्र रद्द गर्ने उल्लेख छ ।

यस्तै, दफा २१ (५) मा भनिएको छ, ‘दफा १२ बमोजिम झूटो विवरण दिई नागरिकताको प्रमाणपत्र प्राप्त गरेमा वा दफा १७ बमोजिम सच्याइएको विवरण झुटो प्रमाणित भएमा त्यस्तो झुटो विवरण दिने व्यक्तिलाई वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको बर्खिलाप अन्य कुनै कसूर गर्ने गराउने व्यक्तिलाई पन्ध्र हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

सन्दीपका वकिलहरूले किशोरीद्वारा पेश गरिएको नागरिकता तथा जन्मदर्तामा उल्लेखित जन्ममिति झूटो रहेको दाबी गरेका छन् । किशोरीले यसै वर्षमात्र उमेर घटाइ नयाँ जन्मदर्ताको प्रमाणपत्र बनाएर त्यसकै आधारमा नागरिकता लिएको उनीहरूको भनाइ छ । यससम्बन्धी कागजातहरू पनि अदालतमा पेश भएका छन् ।

प्रतिक्रिया