नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र युएईबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।
नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते ३ खेल हुनेछ ।
कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको छ र अदालतमा मुद्दा चलिरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिम भने अहिले कप्तान विहीन छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल छनोट समिति र प्रशिक्षकसँग सल्लाह गरेर नयाँ कप्तान नियुक्त गर्ने बताउँछन् । ‘खेल नजिक आइसकेकाले अब कोच र सेलेक्सन कमिटीको सल्लाहमा नयाँ कप्तान चाँडै नियुक्त गरिनेछ,’ उनले भने ।
मल्लले यूएईविरुद्धको शृंखलाको लागि क्यानले २४ खेलाडी छनोट गरेर आन्तरिक प्रशिक्षण सुरु गर्ने बताए । ‘हामीले २४ जना छनोट गरेर आजदेखि नै आन्तरिक रुपमा क्याम्प राख्नेछौं । अहिले प्रधानमन्त्री कपमा आफ्नो खेल नभएका दिन उनीहरु प्रशिक्षणमा सहभागी हुनेछन्,’ मल्लले भने, ‘२४ जनाबाट अन्तिम १४ जना छनोट गरिनेछ ।’
नेपाली टिममा अहिले अन्तर्राष्ट्रियस्तरमा कप्तानी गरिसकेकादेखि उमेर समूहमा कप्तानी गरिसकेका र घरेलु क्रिकेटमा पनि कप्तानी गरिसकेका खेलाडीहरु छन् । उनीहरुबाटै एक जना कप्तान बन्नेछन् ।