रातको समयमा तिहारको रमाइलो गरिरहेका कन्चनपुरको एक परिवारमा मध्यराती प्रहरीले आक्रमण गर्दा दुई जना सख्त घाइते भएका छन।
कञ्चनपुर प्रहरीले बिहीबार मध्यरातमा भीमदत्त नगरपालिका–५ वनगाउँका महेश खड्काको घरमा आक्रमण गर्दा आतंक मच्चिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको नेतृत्वमा गएको टोलीले इष्टमित्रसहित तिहारमा रमाइलो गरिरहेका बेला ज्यादती गरेको खड्काले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।
तास खेलिरहेको आरोप लगाउदैँ ठगुन्ना नेतृत्वको टोलीले त्यहाँ रहेका पाहुना र परिवारका सदस्यमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको खड्काले बताए।
उनका अनुसार गोबिन्द साउदलाई हतकडीलगाएर कुटपिट गरिएको छ। साउदको मुख र आँखामा चोट लागेको छ। प्रहरीले सुरेश धामी, अनुराग चन्द, मनिषा खड्का र श्रेया खड्कालाई पनि लाठीले कुटपिट गर्दा उनीहरु घाइते छन्। महाकाली प्रादेशिक अस्पतालले गम्भीर घाइते सुरेश र अनुरागलाई थप उपचारका लागि धनगढी रेफर गरेको छ।
‘घरमा टीका लगाउन इष्टमित्रसहितका पाहुँना आउनु भएको थियो, खसी काटेर रमाइलो गरिरहेका थियौँ,’ अर्का पीडित सुरेश खड्काले भने, ‘महिला र पुरुष छुट्टाछुट्टै कोठामा बसेर खानपान र रमाइलो गरिरहेका बेला हाम्रो कोठामा पुगेर करिब आधा घण्टासम्म चुकुल लगाएर भित्रै थुनियो।’
आफूहरु भएको कोठामा चुकुल लगाएर बन्धक जस्तो बनाएको खड्का परिवारको भनाई छ। भित्र चिच्याएको आवाज सुनेपछि छिमेकीहरु जम्मा भएका थिए। उनीहरुले दवाव दिएपछि मात्र ढोका खोलेको पीडितले बताए। जुवा खेलाइएको आशंकामा प्रहरी त्यहाँ पुगेको अनुमान छ।
तर, उनीहरुले त्यहाँबाट तासलगायत कुनै सामाग्री भने फेला पार्न सकेनन्।
राति जर्बजस्ती व्यक्तिको घरमा छिरेर प्रहरी कुटपिटमा उत्रिएपछि स्थानीय प्रतिकारमा ओर्लिएको खड्का परिवारले जनाएको छ।
त्यसक्रममा प्रहरी निरीक्षक ठगुन्नालाई पनि सामान्य चोटपटक लागेको र वडा प्रहरीका इन्चार्ज प्रकाश भण्डारीले उनलाई बचाएर लगेका थिए। ‘तर, त्यसको १५–२० मिनेटपछि ठगुन्ना पुनः वान टन गाडी ल्याएर आए, थप मद्धत ल्याएर आएका ठगुन्नाले घर बाहिर बसिरहेका व्यक्तिहरुलाई अन्धाधुन्ध कुटपिट गरे,’ खड्काले पत्रकारहरुलाई भने।
घाइते मध्येका दुई जनाको अवस्था गम्भीर छ। ‘रातिको समयमा व्यक्तिको घरमा घुसेर प्रहरीले यस्तो बर्बर आतंक मच्चाउन पाउँछ?,’ पीडित मध्येका मनोज खड्काले भने, ‘प्रहरीले कानून हातमा लिएर सर्बसाधारणमाथि जंगली व्यवहार गर्छ भने कानूनी राजको के अर्थ रह्यो।’
पीडित परिवारले राति नै जिल्ला प्रहरी कार्यालयमा गएर घटनाबारे डिएसपी चक्रबहादुर शाहलाई जानकारी गराएका छन्। ‘डिएसपी सापले आफूहरुले टोली परिचालन नगरेको र घटना अनुसन्धान गरी दोषी माथि कारबाही गरिने आश्वासन दिनुभएको छ,’ उनले भने, ‘यसबारे सबै प्रमाण लिएर अदालत जान्छौँ।’
घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका डिएसपी शाहलाई सम्पर्क गर्दा उनको फोन प्रहरी निरीक्षक पुष्कर पन्तले उठाए। ‘म आजै आएको हुँ, घटनाबारे केही थाहाँ छैन्,’ उनले भने।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्याम चौधरीको फोन उठेन। पीडित परिवारले ज्यादती गर्ने प्रहरी निरीक्षक ठगुन्नामाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ।