त्रिभुवन आर्मी क्लबकी २१ बर्षीय जयरानी थारु पोखरामा भैरहेको नवौं राष्ट्रिय खेलकुदमा छाएकी छिन् ।
एथ्लेटिक्समा थारुले ३ स्वर्ण जितिसकेकी जयरानीका अझै २ वटा स्पर्धा बाँकी छ ।
४०० मिटर हर्डल्स, १०० मिटर हर्ल्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी उनले आज (मंगलबार) लङजम्पमा कीर्तिमानसहित अर्को स्वर्ण जितेकी हुन् ।
हर्डल्सको दुवै विधामा आफ्नै कीर्तिमानमा सुधार गरेकी जयरानीले लङजम्पमा निशा चौधरीको कीर्तिमान तोडिन् ।
पोखरा रंगशालमा मंगलबार बिहान सम्पन्न लङजम्पमा लुम्बिनी प्रदेशकी निशा चौधरीलाई ९ सेन्टिमिटरले पछि पारिन् । काठमाडौंमा असारमा भएको १२औं राष्ट्रपति रनिङ शिल्डमा निशाले राखेको ५ मिटर ४७ सेन्टिमसटरको कीर्तिमान तोडेकी हुन् । जयरानीले ५ मिटर ५८ सेन्टिमिटर जम्प गरिन् ।
‘तीनवटा इभेन्टमा कीर्तिमानसहित स्वर्ण जित्दा एकदमै खुशी लागेको छ’, जयरानीले छोटो प्रतिक्रिया दिँदै भनिन् ।
जयरानीले एथ्लेटिक्स खेल्न थालेको ८ वर्ष भयो । सातौंदेखि राष्ट्रिय खेलकुदमा सहभागिता जनाएकी उनले आठौं राष्ट्रियमा स्प्रिन्ट र लङजम्प विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।