धनगढीको बीच बजारमै सोमबार साँझ सात बजे पुर्व प्रहरीका बाबुछोरामाथि कुटपिट भएको छ।
धनगढी उपमहानगरपालिका १ स्थित कैलालीपुल नजिक पूर्व प्रहरी नायब निरीक्षकसमेत रहेका ५५ वर्षीय तोपेन्द्र बहादुर सिजाली र उनका २८ वर्षीय छोरा जितेन्द्र बहादुर सिजालीमाथि कुटपिट भएको हो। कुटपिटमा परेर तोपेन्द्रको टाउकोमा र जितेन्द्रको भित्री शरीरमा चोट लागेको प्रहरीले बताएको छ। अहिले उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय दिपक खड्का र डोटी केआइसिंह गाउँपालिका वडा नम्बर ६ घर भएर धनगढी बस्दै आएका २८ वर्षीय गणेश खड्काले उनीहरुमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। उनीहरुलाई आबश्यक अनुसन्धानका लागि पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिएको छ।
यसैबीच प्राप्त अर्को जानकारी अनुसार सिन्जालीका बाबुछोरामाथि भएको कुटपिट देखेर दुई जना महिला बेहोश भएका छन्। झगडा देखेर धनगढी उपमहानगरपालिका ३ विशालनगर बस्ने बर्ष २० कि सुर्जा श्रीमाल र वर्ष २० कि पुजा श्रीमाल बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
झगडाका क्रममा आएको रगत देखेपछि उनीहरु बेहोस भएका हुनसक्ने प्रहरीले अनुमान गरेको छ। उनीहरुलाई उपचारका लागि नवजीवन अस्पतालमा पठाइएको डिएसपी जोशीले जानकारी दिए ।