नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नागरिकता विधेयक पास नभए एमालेका नेता कार्यकर्तालाई लखेट्न निर्देशन दिएका छन् ।
जनकपुरधामको पिडारी चोकमा पार्टीद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परेर राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्दा नागरिकता विधेयक ओझेलमा परेको बताए ।
पुनः दोश्रो पटक पनि संघीय संसदबाट पास भइसकेको नागरिकता विधेयक उनले प्रमाणीकरण नगरे एमालेका नेता कार्यकर्तालाई लखेट्ने चेतावनी दिए । सह–महामन्त्री यादवले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुमा नेकपा एमाले दोषी रहेको आरोप समेत लगाए । उनले उमेर पुगेपछि नागरिकता माग्नु अपराध हो र ? भनेर प्रश्न गर्दै नागरिकताको समस्या समाधान गर्नु सबै दल एकमत हुनुपर्नेमा जोड दिए । नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्नेमा उनले जोड दिए ।
सह–महामन्त्री यावदले एमाले नेतृ जुली महासेठलाई लक्षित गर्दै भने, ‘ऊ जुली गाउँ पसिहाल्छिन् । एक दिन लखेटेपछि रामपुर चोकबाट पनि भागिनन् भने मलाई भन्नुहोला ।’
‘यो पटक लखेटेनौं भने फेरी मलाई भन्नुहोला, अर्को पटक भाषण गर्दिनँ’, उनले भने, ‘हामीहरु लखेट्छौं । तपाई पनि लखेट्नुस् । दुवैजना मिलेर लखेटौं त ।’ उनले श्रीमान– श्रीमती दुवै मिलेर ठगिरहेको भन्दै कार्यक्रममा उपस्थित महिलाहरुलाई नरिसाउन आग्रह गरे ।
उनले भने, ‘हेमबहादुर पनि श्रीमतीसँग मिलेर ठगेँ, तर आज ऊ कता छन् ? म भविष्यवाणी गर्छु । म पनि केहि कुरा बुझ्छु । नागरिकता विधेयकको विरोध गर्ने महासेठ दम्पतिलाई हेमबहादुर भन्दा बेहाल गरिदिन्छौं ।’