नर्वेमा नेपाली फिल्म छायांकनका लागि भन्दै नेपाल पर्यटन बोर्डको नक्कली कागजपत्र प्रयोग गरेको भेटिए पछि नेपाल प्रहरीको अपराध अन्वेषण ब्युरो (सिआईबी)ले छानबिन शुरु गरेको छ।
चर्चित नेपाली सिने कलाकारहरुआर्यन सिग्देल र केकी अधिकारीको नाममा नर्वेमा नेपाली फिल्म छायांकनका लागि भन्दै भारतस्थित नर्वेजियन दुताबासमा पेश भएको नेपाल पर्यटन बोर्डको सिफारिश्पत्र नक्कली देखिए पछि सिआईबीले छानबिन शुरु गरेको हो ।
नेपाल पर्यटन बोर्डको नक्कली कागजपत्र पेश गरेर फिल्म छायांकन गर्ने नाममा मानव तस्करी गरेको आशंका बढे पछि सिआईबीले छानबिन शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ।
प्रहरीको सिआइबीले नै छानबिन शुरु गरेपछि ‘तिम्रो नजर’ फिल्मको निर्माता रोशन पराजुली आफ्नो फेसबुक निष्क्रिय गराएर बेपत्ता भएका छन्। तर उक्त फिल्म छायांकनका लागि नर्वे जान भिसा आबेदन दिएको भनिएका नेपाली सिने कलाकारहरु केकी अधिकारी र आर्यन सिग्देलले अनाबिग्यता प्रकट गर्दै छानबिनको माग गरेका छन्।
नर्वेमा नेपाली फिल्म छायांकनका लागि अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेस भएको भेटिएको छ । ‘तिम्रो नजर’ फिल्मको छायांकन नर्वेमा गर्नका लागि भारतमा रहेको नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा नेपाल पर्यटन बोर्डको लेटरप्याड र कार्यकारी प्रमुखको हस्ताक्षर नक्कली प्रयोग भएको खुलेको हो ।
फिल्म छायांकनका लागि कलाकारसहितको भिसा आवेदन परेपछि दूतावासले नेपालस्थित पर्यटन बोर्डबाट फोनमार्फत जानकारी लिएको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो ।
नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग छ । तर, प्रमुख रेग्मीले बोर्डले नर्वेमा कुनै पनि फिल्मको सुटिङको लागि अनुमति नमागेको र आफ्नो हस्ताक्षर नक्कली प्रयोग भएको बताएका छन् । नेपाल पर्यटन बोर्डको ३०९-२०७८/७९ पत्र नम्बरमा गत जुलाई २० मा १४ जना कलाकारका लागि भिसा आवेदन पेस भएको थियो । तर, बोर्डले लेटरप्याड र हस्ताक्षर दुवै नक्कली प्रयोग भएको बताएपछि दूतावासले भिसा रिजेक्ट गरेको छ ।
सुटिङका लागि हरिश सिग्देल (आर्यन), केकी अधिकारीलगायत १४ जनाको नाममा भिसा आवेदन दिइएको थियो । तर, निर्माताले भिसाका लागि आवेदन दिएकाले फिल्म निर्माणका लागि प्रयोग भएको कागजातको बारेमा कलाकारहरु जानकार नहुन पनि सक्छन् । आर्यन र केकीले ‘तिम्रो नजर’ फिल्ममा काम गर्न लागेको हो वा होइन भन्ने विषयमा कुनै पनि जानकारी दिएका छैनन् ।
नर्वेजियन दूतावासमा पेस गरिएको कागजपत्रमा फिल्मको निर्देशकमा दीपकप्रसाद आचार्य र निर्मातामा रोशन पराजुलीको नाम छ । आफ्नो कार्यालयको लेटरप्याड र प्रमुख कार्यकारी अधिकारीको हस्ताक्षर नक्कली प्रयोग भएको भेटेपछि बोर्डले मुद्दा छानबिनका लागि नेपाल प्रहरीमा उजुरी दिएको छ।
बोर्डले अनुसन्धानको लागि दिएको पत्र दर्ता गरेर अहिले प्रहरीको अनुसन्धान ब्युरोले नक्कली कागजपत्र पेस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । ब्युरोले सरकारी पत्र दुरुपयोगको विषयसँगै फिल्मका नाममा मानव तस्करी हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ ।
दूतावासमा ‘ब्लु बर्ड एचडी’ नामक चलचित्र निर्माण कम्पनीमार्फत ‘तिम्रो नजर’ फिल्मको सुटिङका लागि भनेर भिसा माग गरिएको छ । जसमा केकी, आर्यन, म्युजिक भिडियो निर्देशक दीपकप्रसाद आचार्य र निर्माता रोशन पराजुलीबाहेक अन्य नाम अपरिचित छन् । पराजुलीकै कम्पनीमार्फत फिल्म निर्माणका लागि भिसा अप्लाई भएको देखिन्छ ।
भिन्न प्राविधिक पद खडा गरेर उनीहरूलाई नर्वे पुर्याउन खोजेको देखिन्छ । फिल्मको एडमिन/फाइनान्स हेडका रूपमा विक्रम बस्नेत, हेड मेकअप आर्टिस्टका रूपमा रीता सापकोटा खनाल, कोरियोग्राफरका रूपमा माजोहित अन्सारी, ड्रेस डिजाइनर दीपेन भुजेल, क्यामेरापर्सनका रूपमा सरोज गुरुङ, सहनिर्माताका रूपमा भक्तबहादुर रानामगर, सहायक निर्देशकका रूपमा टेसबहादुर रन्टिजा, सिनेमाटोग्राफरका रूपमा राजु गुरुङ, प्रोडक्सन कन्ट्रोलरका रूपमा लक्ष्मण आचार्य र प्रमुख लाइटम्यानका रूपमा मीनराज गुरुङको नाम छ ।
भिसा माग गर्ने १४ जनाको सूचीमा रहेकी अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्रसँग आफ्नो कुनै पनि सम्झौता नभएको बताएकी छिन् । निर्देशकका रूपमा भिसा अप्लाई गरिएका दीपकप्रसाद आचार्यले भने आफूले करिब एक वर्षअघि निर्माता भनिएका रोशन पराजुलीलाई चिनेको, तर किर्ते प्रकरणबारे केही जानकारी नभएको बताए । ‘यो के हो म आफैँ पनि अनुसन्धान गरिरहेको छु,’ उनले भने, ‘मेरो पुरानो साथी दिलीप न्यौपानेमार्फत मैले यिनलाई चिनेको हुँ । मिका सिंहको स्वर रहेको म्युजिक भिडियो बनाएको याद छ ।
निर्देशक आचार्यका अनुसार दूतावासका लागि भिसा निवेदनमा लेखिएजस्तो फिल्म निर्माणका लागि निर्माता पराजुलीसँग कुनै कुरा भएको थिएन । ‘फिल्म बनाउने त कुरै थिएन, नाम नै पहिलोपल्ट सुन्दै छु,’ उनले भने, ‘दुईवटा म्युजिक भिडियो निर्देशनको दुई लाख पारिश्रमिक लिने मौखिक कुराकानीचाहिँ भएको थियो । त्यसपछि बीचमा केही कुराकानी भएको थिएन । अचानक यस्तो फेक डकुमेन्ट प्रयोग भएको खबर सुनेँ । यो खबर बाहिरिएपछि मैले पराजुलीलाई राति फेसबुकमा म्यासेज पनि पठाएँ, तर रिप्लाई आएन । उल्टै फेसबुक डिएक्टिभ गर्यो । अहिले साथीसँग बुझ्दा भारत बस्छ भन्ने सुनेँ ।’
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी कमल थापाले घटनाबारे अनुसन्धान थालेको बताए । ‘मंगलबार पत्र आएको थियो,’ उनले भने, ‘हामीबाट बुझ्ने काम भइरहेको छ । एक साताभित्र यसबारे विस्तृत कुरा खुला । मानव बेचिबिखन हो या किर्ते मात्रै हो, विस्तृत अनुसन्धानपछि मात्रै भन्न सक्छौँ ।’