गोरखाका दुई जना र संखुवासभाका एक जना युवाले विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू सफल आरोहण गरेका छन् । धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका पुर बहादुर गुरुङ (युक्त), सुमन गुरुङ र सखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा नं ४ का रमेश गुरुङले सयुक्त रुपमा माउन्ट केटूको सफल आरोहण गरेका हुन्।
पाकिस्तान र चीनको सिमाना काराकोरम रेन्जमा रहेको उक्त हिमाल उनीहरुले गत जुलाई २२ गतेको विहान सफल आरोहण गरेका प्राप्त समाचारमा जनाइएको छ ।
साभेज माउन्टेन अर्थात पलपलमा मारिन सक्ने खतरनाक हिमालको उपमा पाएको माउन्ट केटू अन्य हिमालको तुलनामा बढी जोखिमपूर्ण मानिन्छ । अत्यन्तै कठिन भूगोलका बाबजुद जोखिमपुर्ण यात्रालाई पार गर्दै नेपालका तीन जना युवा माउन्ट केटूको शिखरमा पुग्न सफल भएको हो । गुरुङ समुदायबाट पहिलो पटक तीन जना युवाहरु माउन्ट केटूको शिखरमा पुगेको पुर बहादुर गुरुङले दाबी गरे ।
३४ जनाको ग्रुपको नेतृत्व गर्दै उनीहरुको समूहमा बेलायत, अमेरिका, कतार, वंगलादेश लगायतका देशका नागरिकहरु थिए । युक्त गुरुङले विश्वको अग्लो सगरमाथा हिमाल ६ पटक सम्म आरोहण गरिसकेका छन् । उनी गुरुङ समुदायबाट हाल सम्म सबै भन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति रहेका छन्।