चर्चित गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी छन्।
गत वैशाखमा बिहेका लागि औँठी साटासाट गरेको फोटो सार्वजनिक गरेकी गायिका मेलिनाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफुले एरेन्जर सञ्जीव बराइलीसँगको इन्गेज्मेन्ट तोडेकी घोषणा गरेकी हुन्।
सामाजिक संजालमा मेलिनाले इन्गेज्मेन्टपछि दुईजनाबीच लामो विमर्श र छलफलपछि छुट्टिने निर्णय गरेको बताएकी छन्। इन्गेज्मेन्ट तोड्नुपर्ने कारण भने उनले आफूहरूबिच वैचारिक मतभेद उत्पन्न भएको उल्लेख गरेकी छिन।
संगीतकर्मी बराइलीसँग मेलिनाको इन्गेजमेन्टको खबर गत वैशाखमा सार्वजनिक भएको थियो । भविष्यमा सँगै जीवन बिताउने सोचसहित सो निर्णय लिएको भए पनि वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थालेको मेलिनाको भनाइ छ ।
उनले लेखेकी छन्, ‘धेरै समीक्षा र आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो ।’
मेलिना थप्छिन्, ‘सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्ने बाध्यता नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म यही सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छु ।’
यसबीचमा शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति मेलिनाले क्षमा याचना गरेकी छन् । भविष्यमा सांगीतिक क्षेत्रमा अझै मिहिनेतका साथ सेवा गरिरहने प्रतिबद्धता उनले जनाएकी छन् ।