अध्यक्ष पंकजबिक्रम नेम्वाङ बैठकको बीचमा नै उठेर हिँडेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बैठक बिहीबार बिहान सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको थियो ।
हाजिरीको विषयमा विवाद भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
बैठकको सुरुआतमै अध्यक्ष पंकज नेम्वाङले हाजिरी गर्नुपर्ने बताएका थिए । तर, गणेश थापा पक्षका पदाधिकारी र सदस्यहरुले बैठक सकिएपछि मात्रै हाजिर गर्ने अडान लिएपछि अध्यक्ष नेम्बाङले बैठक छाडेर हिडेको समाचारस्रोतको दाबी छ।
बैठक सुरु हुनुअघि देखि नै गणेश थापापक्षका उपाध्यक्ष दीपक खतिवडाले अघिल्लो कार्यसमितिको निर्णय सच्याउन माग गर्दै सदस्यहरुको हस्ताक्षर अभियान सन्चालन गरेका थिए ।
असार ६ गते भएको निर्वाचनपछि बसेको कार्यसमितिको पहिलो बैठकले एन्फा महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्रमान जोशी र विदेश विभाग प्रमुखमा नवीन पाँडेलाई नियुक्ति गरिएको थियो ।
नियुक्तिको माइन्युटमा हस्ताक्षर गरेका गणेश थापा पक्षले भोलिपल्टैदेखि प्रक्रियामा प्रश्न उठाउन थालेका थिए ।
एन्फा कार्यसमितिको यो बैठकमा १८ वटा एजेण्डा थिए । जसमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति, नेपालमा हुने महिला साफ च्याम्पियनसिप मुख्य एजेन्डा रहेको थियो ।
महिला साफ च्याम्पियनसिप आयोजनाका लागि निर्णय गर्न अत्यावश्यक हुँदा बैठक स्थगित गरिएको छ । यसअघि सोमबार बोलाइएको बैठक अध्यक्ष नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।
कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै एन्फा हाँक्न आएका नेम्वाङ निकै दबाबमा रहेका छन् । तीन समूहलाई समेट्दै गर्ने नियुक्ति नै कठिन रहेको छ । सिइओ, प्रवक्ता, तीन सह महासचिव, मानार्थ अध्यक्ष सहित विभिन्न पदमा उनले नियुक्ति गर्नुपर्नेछ ।