पोखरेली साहित्य जगतमा बरिष्ठ साहित्यकारको पहिचान बनाएका कविवर तेजनाथ घिमिरेको ८३ वर्षको उमेरमा गएराती पोखरा ३ नदीपुरस्थित आफ्नै निवासमा निधन भएको छ।
लामो समयदेखि अस्वस्थ रहेका कविवर घिमिरेको गएराती २ बजेर १२ मिनेटमा निधन भएको कवि, साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिए ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित घिमिरेलाई अक्सिजन दिएर घरमै उपचार हुँदै आएको थियो।
पोखरामा साहित्य, पत्रकारिता, शैक्षिक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत हुन् । स्वर्गिय घिमिरेका देशकाल, अनावरण, कालचक्र लगायतका कृतिहरु प्रकाशित छन् ।
लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए । नेपाली कांग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्ष समेत थिए।
स्वर्गिय घिमिरेको आजै पोखराको तुलसीघाटमा विहान १० बजे अन्त्येष्टि गर्ने तयारी भएको परिवारलाई उद्धृत गर्दै कवि, साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिए ।