संसारकै कान्छो सगरमाथा आरोही शम्भु तामाङको बिहीबार बिहान ललितपुरको गोदाबरीस्थित नेपाल क्यान्सर हस्पिटलमा निधन भएको छ । दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित तामाङको उक्त अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।
सिन्धुपाल्चोक लिसंखुपाखर वडा नं २ ह्रिस्याङ्गु घर भएका तामाङ अहिले काठमाडौंको महाराजगन्जमा बस्दै आएका थिए । तामाङले सन् १९७३ मे ५ तारिखका दिन १८ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएका थिए ।
तामाङ लिसंखु सेवा समाजका वर्तमान अध्यक्ष तथा छ्योइफेल कुन्देलिङ गोन्पाको सल्लाहकार र तीलगंगा आँखा अस्पतालका पूर्वकोषाध्यक्ष थिए । तामाङका श्रीमती, एक छोरा र एक छोरी छन् ।