काठमाडौंतर्फ लैजाँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धार्केमा राजमार्गछेउमा रोकेर किसानले खोसेका छन् ।
राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएर काठमाडौंतर्फ लैजाँदै गरेको दुई ट्रक अवैध रासायनिक मललाई धादिङको धार्केमा राजमार्गछेउमा रोकेर किसानले खोसेका हुन् ।
सशस्त्र प्रहरीको सुरक्षा घेरामा काठमाडौंतर्फ लैजाँदै गरेको दुई ट्रक अवैध रासायनिक मल कसरी खोसियो भन्ने बारेमा अनुसन्धान हँदै गरेको राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले बताए।
प्रबक्ता आचार्यका अनुसार, शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिक्न थालेपछि सशस्त्र प्रहरीले मल खोस्न ब्यस्त किसानहरुलाई बन्दुकका कुन्दाले हानेको भिडियो पनि सार्वजनिक भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।
किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।
प्रवक्ता आचार्यका अनुसार ती ट्रकमा एउटा सामान भनेर अर्कै सामान ल्याइएको थियो । ‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो’ उनले भने ।