नेपाली चलचित्र ‘कबड्डी ४’ बिरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दर्ता भएको छ।
चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रदर्शनमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको हो। रोविनकुमार लामाले सोमबार चलचित्रविरुद्ध उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए ।
सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको उक्त उजुरीमा निवेदक लामाले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् ।
१२३१/२०७९/२र३० दर्ता नम्बर रहेको उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’
रामबाबु गुरुङ निर्देशित फिल्मले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ ।



