कास्कीका पुर्व जिल्ला शिक्षा अधिकारी बस्नेतको निधन

कास्कीका पुर्व जिल्ला शिक्षा अधिकारी बस्नेतको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 11.1K
    Shares

योगेन्द्रबहादुर बस्नेत

पोखराका शिक्षासेवी योगेन्द्र बहादुर बस्नेतको ७५ वर्षको उमेरमा निधन भएको छ।

पोखरा–१०, अमरसिंह शान्तिपथ निवासी शिक्षासेवी स्व बस्नेतको ललितपुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

केही दिन अघि मात्रै उनको पित्तथैलीको अपरेसन गरेको परिवार श्रोतले जनाएको छ। परिवार श्रोतका अनुसार केही महिना अघिदेखि उनी उच्च रक्तचाप, पेनक्रियाज र आन्द्रामा रगत जम्ने स्वास्थ्य समस्याका कारण विरामी थिए। पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नियमित उपचारपछि उनलाई अपरेसनका लागि काठमाण्डौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। मेडिसिटीमा मंगलबार मात्रै बस्नेतको आन्द्राको अपरेसन गरिएको थियो।

स्व. बस्नेतको पार्थिव शरीरलाई पोखरा ल्याइँदैछ। हिँजै बुधबार बेलुकी काठमाण्डौंबाट शब हिँडाएपनि पृथ्वीराजमार्गको मुग्लिङ–मलेखु सडक खण्डमा पहिरो गएका कारण जाममा परेको परिवार श्रोतले बताएको छ। स्व. बस्नेतको पार्थिव शरीरलाई अमरसिंह शान्तिपथस्थित निवासमा राखेर श्रद्धाञ्जली दिने कार्यक्रम छ।

कास्कीमा जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी, पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष रहेर सेवा गरेका स्व. बस्नेत एथ्लेटिक्सका अन्तराष्ट्रिय खेलाडी समेत हुन्। राष्ट्रसेवकको अवकासपछि स्व. बस्नेत पोखराको विभिन्न सामाजिक संघसंस्थामा रहेर समाजसेवामा सक्रिय थिए।

स्व. बस्नेतको २००४ जेठ २६ गते तनहुँको तत्कालीन दुलेगौंडा–३ उदीनढुंगामा जन्म भएको थियो। हाल, स्व. बस्नेतको २ श्रीमती, २ छोरा र २ छोरी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार