चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगर र दुर्ब्यबहार आरोप लागेका भिक्षु फुर्वा तामाङबीच समझदारी भएको छ । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो ।
दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।
उक्त समझदारी पत्रमा अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी छन् ।
‘आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन्,’ मिरुना मगर र फुर्वा तामाङबीच भएको क्षमायाचना गरिएको पत्रमा लेखिएको छ, ‘हामी दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनहरुमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनवाश्यक टीकाटिप्पणी नगर्ने तथा समाजमा धार्मिक तथा सम्प्रदायक द्वेष फैलन नदिन सबै सरोकारवाला निकाय, जातीय, तथा धार्मिक संघ संगठनहरुसमक्ष अपिल गर्दै राजीखुसी यस पत्रमा हस्ताक्षर गरी लियौं दियौं ।’
पत्रमा मिरुनाका तर्फबाट निर्देशक रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, निर्माता मणिराम पोखरेल, कलाकार विजय बराल, संजोग लाफा मगर, अभिनेत्री पशुपति राई, संगीतकार कालीप्रसाद बास्कोटाले साक्षीका रुपमा हस्ताक्षर गरेका छन् । त्यस्तै फुर्पाका तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुण्डुप लामाले हस्ताक्षर गरेका छन् ।
यस अघि मंगलबार अभद्र व्यवहारमा प्रहरी नियन्त्रणमा रहेका फुर्पाको रिहाइको माग गर्दै समर्थकहरुले केएल टावर र चलचित्र विकास बोर्डमा प्रदर्शन गरेपछि दुई पक्षबीच सहमति भएको हो ।
प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनित ‘कबड्डी ४’को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शन गरेपछि मंगलबार नै फुर्पालाई प्रहरीले थुनामुक्त गरेका थिए । प्रदर्शनपछि केएल टावरमा अवस्थित हलको शो रद्द भएको थियो ।
