नवनिर्वाचित मेयर धनराज आचार्यले लेकसाइडको सडकका डिभाइडरमा रोपेका फूल चोरी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन्।
फूल चोरी भएको अर्को दिन उनलाई स्थानीय बासिन्दाले समातेर वडा प्रहरी कार्यालय बैदाममा बुझाएका हुन् । चोरी भएको फुल भने ताल बाराही माविको व्यायामशाला नजिक झोलामा राखिएको अवस्थामा सोमबार भेटिएको थियो । पोखरा ६ का पूर्व वडासदस्य हरि पहारी र स्थानीय राजेन्द्र तिवारीले व्यायामशाला नजिक झोलामा राखिएको अवस्थामा फूल भेटी वडा प्रहरी कार्यालय वैदामलाई बुझाएका थिए ।
फूल चोरी भएको खबर पाए पछि स्थानीय बासिन्दाले सिसि टिभी क्यामेराबाट फूल चोर खोजेका थिए । प्राप्त सिसिटिभी भिडियोका आधारमा उनीहरुले चोरी भएको फ़ूल्सहित चोरी कार्यमा संलग्न व्यक्ति समेतलाई समातेका थिए।
मेयर आचार्यले सपथ ग्रहणपछि पदभार ग्रहणअघि लेकसाइडको ती सडक डिभाइडरमा फूल रोपेका थिए । उनले पोखरालाई फूलैफूलको सहर बनाउने घोषणा पनि गरेका थिए । मेयर आचार्यले चुनाव अघि जारी गरेको घोषणा पत्रमा एक टोल एक बगैंचा र एक घर ५ गमला र एक फक्रेको फूल कार्यक्रम ल्याइने उल्लेख गरेका थिए ।