लमजुङको क्ह्लोलासोथार गाउँपालिका-५ मा रहेको रुदीखोला जलविद्युत आयोजनाको हेडरेस पाइप चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन।
गएको बैशाख नौ गते उक्त जलविद्युत आयोजनाको हेडरेस पाइप चोरी गर्दै गर्दा सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह,तनहुँ म्याग्दी नगरपालिका(४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका ५ वस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ वस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ५ वस्ने २४ वर्षीय मनिष पुर्जा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दिलबहादुर घर्तीको अग्रसरतामा भएको भनिएको उक्त चोरीमा संलग्न रहेका भारत घर भई हाल पोखरा वस्ने ५० वर्षीय पन्नालाल साहलाई प्रहरीले बुधबार पक्राउ गरी जिल्ला अदा’लत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेस कुमार साहले आयोजनाका फलामको पाइप काट्न लागि पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए । उनीहरूलाई ट्रक तथा फलाम काट्ने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए।