चलचित्र विकास बोर्डले बिना अनुमति मध्यरातमा अतिरिक्त शोमार्फत भारतीय सिनेमा देखाउने तीन वटा फिल्म हललाई शुक्रबार कारबाही सिफारिश गरेको छ।
बिना अनुमति मध्यरातमा अतिरिक्त शोमार्फत दक्षिण भारतीय फिल्म ‘केजिएफ च्याप्टर–२’ देखाउने बिग मुभिज, एफक्युज, बिएसआर मुभिजलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई सिफारिस गरेको हो। तीन वटा फिल्म हलले तोकिएभन्दा बढी शुल्क लिएर बिनाअनुमति राति १ बजे र ३ बजेको अतिरिक्त शो चलाएको चलचित्र विकास बोर्डले जनाएको छ।
बोर्डले बक्स अफिस सञ्चालन गर्ने सम्बन्धी कार्यविधि–२०७६ को फिल्म हल नियमनबमोजिम बक्स अफिस सञ्चालनमा रिर्पोटिङ गरे नगरेको र सफ्टवेयरअनुसार टिकेटिङ नगरेको फिल्महरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, ‘टिकटमा शुल्क नतोकिएको, मदिरा सेवन गरेका दर्शकहरूलाई हलमा प्रवेश दिएको, बिहानको सोमा समेत छुट नदिएको र सिटभन्दा बढी दर्शकलाई हलभित्र प्रवेश गराएको लगायत गुनासो आएपछि बोर्डले आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि सिफारिस गरेको हो।’
राजस्व विभागले अतिरिक्त सोका लागि बिक्री भएका टिकट र काटिएको बिलबराबरको भ्याट रकम बोर्डमा गणना भएनभएकोबारे छानबिन गर्नेछ भने मदिरा सेवन गरी होहल्ला गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
बोर्डले अतिरिक्त सो चलाएकोबारे राजस्व विभाग र मादक पदार्थ सेवन गरी होहल्ला गरेकोबारे अनुसन्धानका लागि जिल्ला प्रशासनलाई सिफारिस गरिएको थियो।
हलले अनियमितता गरेको पुष्टि भए तत्काल कारबाही, फिल्म हल बन्द गर्न सक्ने तथा ५ लाख रूपैयाँ जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।