बागलुङमा एक सहकारीसहित सात घरमा एकैरात चोरी तथा तोडफोड

बागलुङमा एक सहकारीसहित सात घरमा एकैरात चोरी तथा तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २५ चैत्र २०७८
  • 8.2K
    Shares

चोरी

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा रहेको एक सहकारीसहित सात घरमा चोरी तथा तोडफोड गएराती भएको छ ।

सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा गएराती चोरी भएको हो ।​

तल्लो बजारको सिवाईसी बचत तथा ऋण सहकारी संस्था सहित तल्लो बजारको बलेवा होटल, शान्ति माध्यामिक विद्यालय छेउको पुस्तक पसल, र उपल्लो बजारको नैनसिंहको घर, बविन टेलर्स र शान्ति मेडिकल हलमा चोरी भएको प्रहरीले जनाएको छ । सिवाईसी सहकारीको च्यानल गेटमा लगाइएको ताला फोडेर भित्र पसेपछि अर्को कोठाको मानिसले थाहा पाएर हल्लाखल्ला गरेपछि चोर भागेको प्राप्त समाचारमा जनाइएको छ।

पुस्तक पसलको पैसा राख्ने बाकस नै झिकेर स्कुल पछाडि फालेको पाइएको छ । राति करिव १२ बजेदेखि ३ बजे भित्र चोरी भएको देखिएको स्थानीयहरुले बताएका छन् । बलेवा होटलको माथिल्लो तलामा रहेको सुटकेस ल्याएर त्यहाँ भएको सुनको सिक्री, औँठी र केहि पैसा चोरेको होटलका सञ्चालक गोविन्द अखेलीले जानकारी दिए । यस्तै उपल्लो बजारको मेडिकलको पैसाको बाकस खोलेको, र अन्य पसलमा पनि बाकस नै खोलेको देखिएको छ ।

कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताए ।

चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ । उहाँहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताए ।

चोरी भए, नभएको विषयमा खोजी भइरहेको छ । चोरी भएका सबै घर तथा पसलमा झ्याल, ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे २ बजेसम्म बजारमा गस्ती गरेको प्रहरीले चोरीका विषयमा आज बिहानमात्रै जानकारी पाएको जनाएको छ ।

घटनाका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार हरि शर्माले जानकारी दिनुभयो । तीन महिना पहिला कुश्मीशेरा बजारकै हेमलाल पौडेलको पसल फोडेर चोरी भएको थियो । प्रहरीले त्यतिबेला चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन । तीन महिनापछि कुश्मीशेरा बजारमा पुनः चोरीका घटना बढेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार