सर्लाहीमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य पांच जना भारतीय घाइते भएका छन्।
प्रहरीका अनुसार, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल छेउमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बीआर०६बीएम १५३७ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा कारका चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको बयलडाबड धनुषी २ बस्ने २२ वर्षीय नवीन यादवको मृत्यु भएको छ । सोही कारमा सबार सोही ठाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय दिबयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरंगी भनिने शौरव यादव र २५ वर्षीय अजित यादव घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवम् डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।