जिल्ला प्रहरी कार्यालय कास्कीले बालबालिकाको कानमा लगाएको सुनका मुन्द्रा चोरी गर्नेलाई मात्र नभै ती मुन्द्रा किन्ने सुनचाँदी व्यवसायीलाई पनि पक्राउ गरेको छ।
पोखराको टुँडिखेलस्थित राष्ट्रिय मा.वि.को गेट अगाडीको सोही विद्यालयमा अध्ययनरत दुई जना बालिकाले कानमा लगाएको सुनका मुन्द्रा ललाई फकाई गरी थुतेर भागेकी स्याङजा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.१० रामबजार बस्ने वर्ष २५ की अम्बिका पुलामी मगरलाई पोखरा महानगरपालिका वडा नम्बर १५ घले चोक नयाँ गाउबाट पक्राउ गरेको हो ।
अभियुक्त महिलाले ती सुनका मुन्द्रा पोखरा महानगरपालिका वडा नं.१७ राष्ट्र बैंकचोकमा सुन चाँदी ब्यबसाय गरी बस्ने थमन सिंह विश्वकर्मा र नितेश विश्वकर्माले खरीद गरेको खुलाए पछि उनीहरुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७.६ लाल तौलका सुनका स-साना मुन्द्रा पनि बरामद गरिएको प्रहरीले बताएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले जिल्ला अदालाता कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्राप्त समाचारमा जनाइएको छ।
बालबालिकाको कानमा लगाइएको कानको मुन्द्रा चोरी गरेको आरोपमा पक्राउ परेकी अम्बिका पुलामी मगर यस अघि पनि सोही आरोपमा पक्राउ परेकी थिइन्। उनी त्यस्तै आरोपमा पक्राउ परी कास्की जिल्ला अदालतबाट मिति २०७८ पौष ५ गते एक लाख रुपियाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।