किशोरी गायिका वलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई प्रहरीले भोलि शुक्रबार तनहुँ जिल्ला अदालतमा पेश गर्दैछ। जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणी सम्बन्धि मुद्दामा अनुसन्धानका लागि दोश्रो पटक लिएको १२ दिनको म्याद शुक्रबार सकिने भएपछी प्रहरीले अभिनेता शाहलाई शुक्रबार अदालतमा पेश गर्ने भएको हो।
त्यसो त प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि भन्दै अदालतको आदेशमा २५ दिनसम्म प्रहरी हिरासतमा राख्न सक्छ। अभिनेता पल शाहबिरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गायिकाले अभिनेता शाहलाई अनुसन्धानका लागि दोश्रो पटक म्याद थप भएको अवस्थामा फेरी इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरमा पनि आफुलाई उनै शाहले जबर्जस्ती करणी गरेको भनेर मुद्दा दर्ता गराएकी थिइन्।
एउटै व्यक्ति अभिनेता पल शाहविरुद्ध उनै वलात्कृत भएको भनिएकी किशोरी गायिकाले उजुरी दर्ता गराए पछि अभिनेता शाहलाई अनुसन्धानका लागि भन्दै तनहुँबाट फागुन २४ गते इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो। त्यहाँ पनि आफु बिरुद्ध लागेको वलात्कार सम्बन्धि मुद्दाको बिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरमा बयान दिए पछि अभिनेता शाहलाई दुई दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमार्फत अभिनेता शाहलाई तनहुँ जिल्ला अदालत समक्ष पेश गर्ने तयारी गरिरहेको समाचार सोत्को दाबी छ।
यता नवाल्पिर अर्थात पूर्वी नवलपरासीमा शाहले किशोरी गायिकालाई बलात्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । ‘अनुसन्धान सकेर हामी पूर्वी नवलपरासी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँछौँ’ पूर्वी नवलपरासीका एसपी प्रज्वल महर्जनले भने–‘मुद्दा फरक–फरक दर्ता गर्ने वा तनहुँमा नै मिसिल पठाउने भन्नेबारे सरकारी वकिल कार्यालयबाट निर्णय हुन्छ ।’
अभिनेता पल शाहविरुद्धको ‘मुद्दा फरक–फरक दर्ता गर्ने वा तनहुँमा नै मिसिल पठाउने” भन्ने टुंगो लाग्न सकेन भने अभिनेता अझै बढीमा छ दिनसम्म प्रहरी हिरासतमा बस्न बाध्य हुनेछन। त्यो निर्क्योल हुनासाथ बढीमा छ दिनभित्र अदालतले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटी राखेर थुना बाहिर बसी न्यायिक लडाई गर्न दिने निर्णय गर्नेछ। त्यही आदेशले अभिनेता शाह छुट्ने वा पुर्पक्षमा रहने गरी कारागार चलान हुने निर्क्योल हुनेछ।
फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् । शाहका म्यानेजर कृष्ण जोशीमाथि पनि प्रहरीले ‘बलात्कार मतियार’ को आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीले अहिलेसम्म सो प्रकरणमा जोडिएका पाँच जनासँग बयान लिएको छ । तनहुँ प्रहरीले किशोरी गायिका र शाह बसेको भनिएको घरका घरधनी प्रदिप थापा र उनको पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिकासँगै बसेका हुन् ।’ घटना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजुरीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् ।
कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंसँग पनि प्रहरीले बयान लिइसकेको छ । आरोपी पल शाहले चाहिँ ‘बलात्कार’ अस्वीकार गरेका छन् । तनहुँका अनुसन्धान अधिकृत र सरकारी वकिल कार्यालयका अधिकारीसँगको बयानमा शाहले आरोप अस्वीकार गरेका हुन् । प्रहरीले पीडित बालिकाको पनि घटना विवरण कागज गराएको छ ।