ताली-गाली र धम्कीबिच आयो गायक प्रकाश सपुतको यस्तो जवाफ

ताली-गाली र धम्कीबिच आयो गायक प्रकाश सपुतको यस्तो जवाफ


  • जन संचार
  • सोमबार, ३० फाल्गुन २०७८
  • 4.2K
    Shares

पीर

मुलुकमा गणतन्त्र ल्याउन आफ्नो ज्यानको बाजी राख्ने १० वर्षीय जनयुद्धका महान योद्धाहरुको अहिलेको अवस्था चित्रित गर्दै गायक तथा सर्जक प्रकाश सपुतले बनाएको एउटा गीतकाकारण अहिले नेपाली जनमानसमा तीब्र तरङ्ग सिर्जना भएको छ। कतिपयले यस गीतमार्फत हिजोका महान योद्धाहरुको अहिलेको अवस्थाको यथार्थ चित्रण गरिएको भन्दै गीतको प्रशंसा गरेका छन्। तर हिजो महान जनयुद्धको नेतृत्व गरेको र हाल सत्तासीन हुन् पुगेको सत्तारुढ दल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र माओवादी विचारधारालाई मान्ने पार्टी संगठन वा व्यक्तिहरुले यस गीतको चर्को बिरोध गरिरहेका छन्। दुईसय ४० वर्ष लामो निरङ्कुश सामन्ती राजतन्त्र फाल्न लडेका योद्धाहरुको गीतमा अपमान गरिएको उनीहरुको जिकिर छ।

तात्कालिन जनयुद्धका कमान्डर पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गायक एबम सर्जक प्रकाश सपुत अनि गीतको पक्षमा उभिएका छन। उनले जनयुद्धका लडाकुहरु अहिले ज्यान पाल्न देह ब्यापार गर्न बाध्य भएको घटना उल्लेख गरेका छन्।

यता माओवादी केन्द्र निकट चार वटा भात्री संगठनले गायक प्रकार सपुतको पिर बोलको गीत तत्काल युट्युबबाट हटाउन माग गरेका छन् । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा सङ्घका इन्चार्ज दिपेन्द्र कुमार पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापामगर, जनसांस्कृतिक महासङ्घ, अध्यक्ष मातृका पोखरेल, र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले आइतबार संयुक्त विज्ञप्ति निकालेर म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन माग गरेका हुन् ।
‘२०७८ फागुन २७ गते शुक्रबार प्रकाश सपुत युट्युव च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियो ‘पीर’ले चित्रण गरेको विषयवस्तुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। दश बर्षे महान जनयुद्धमा जनमुक्ति सेनाहरुले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्धलाई नै विद्युतीकरण गर्न खोजिएको उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युव च्यानलबाट हटाउन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ ।

दश वर्षे जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि योद्धाहरुको जीवन परिवर्तन नभएको उद्घोषबाट सुरु गरिएको म्यूजिक भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको भन्दै विज्ञप्तिमा आपत्ति जनाइएको छ । यस्तै महिलाहरुको चरित्र हत्या गरी अश्लील र घोर अपमानजनक ढंगले प्रस्तुत गरिएको पनि आरोप लगाइएको छ ।
सिङ्गो परिवर्तनकारी शक्तिको मानमर्दन गर्ने, घृणा र द्वेष फैलाउने कार्यका साथै विचारधारात्मक तथा राजनैतिक मूलप्रवाहलाई नै मजाक गरिएको अभिव्यक्ति एवं दृश्य माओवादी आन्दोलनको लागि खेदपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा उक्त म्यूजिक भिडियो युट्युव च्यानलबाट तुरुन्त हटाई यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा गल्ती स्वीकार गरी माफी माग्नसमेत आग्रह गरिएको छ ।

यसैबीच गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’ का विषयमा उठाइएका प्रश्नहरुबारे प्रष्टिकरण दिएका छन् । आफ्नाे कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ ।

सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ ।’

पीरले युद्धकै ज र बलमा व्यवथा परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको प्रकाशको भनाइ छ ।

‘समानताका लागि सँगै लडेका कामरेडहरुबीचको बढ्दो दुरी देखाउन मात्रै खोजेको हुँ,’ उनले भनेका छन् । प्रतिकात्मकरुपा राखिएको दृष्यले कसैको आत्मसम्मानमा चोट पुग्न जाने महसुस भएको भन्दै उनले यसमा आत्मालोचना व्यक्त गरेका छन् ।

प्रतिक्रिया