पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ । त्यस दुर्घटनामा मृत्यु हुने तिनै जना शुक्लागण्डकी नगरपालिकाका बासिन्दा रहेका छन्।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा शुक्लागण्डकी नगरपालिका–८ का ७३ वर्षीय रुद्रबहादुर सेन, ४५ वर्षीया लक्ष्मीकुमारी शाही र ३६ वर्षीय ओमप्रकाश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । गुरुङ दुर्घतानाग्रत टाटा सुमो जीपका चालक रहेको प्राप्त समाचारमा जनाइएको छ। दुर्घटना पश्चात उद्धार गरी थप उपचारका लागि चितवन पठाइएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा परी शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थाप मगर, सोही ठाउँका १८ वर्षीया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली, आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएको प्रहरीले जनाएको छ । टाटासुमो बसमा ठोक्किए पछि सडकदेखि करिब ५ मिटर तल खसेको थियो ।