कास्कीको लेखनाथमा मजदुरको हत्या गरी विदेश भागेका एक जनालाई प्रहरीले १५ वर्ष पछि बहराइनबाट पक्राउ गरी नेपाल ल्याएको छ।
कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्यामा संलग्न रहेका अभियुक्त लेखनाथस्थित सातमुहानेका ४६ वर्षीय अशोक गुरूङलाई प्रहरीले १५ वर्षपछी बहराइनबाट पक्राउ गरेर नेपाल ल्याएको हो। उनलाई प्रहरीको इन्टरपोल शाखामार्फत बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
अभियुक्त गुरुङले २०६३ वैशाख २९ गते बेलुकी कुटपिट गरी सख्त घाइते बनाएका मजदुर रोजन राईको उपचारका क्रममा जेठ २ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेका आरोपी गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएका थिए ।
उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध आएपछि प्रहरीको इन्टरपोल महासचिवालयबाट २०७८ मङ्सिर २७ मा ‘रेड नोटिस’ जारी गरिएको थियो ।
उनलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरी नेपाल ल्याएको र थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने जनाइएको छ ।
यसै गरी इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी सिरहा विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई घटनाको छ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
श्रीमती आरती परियारलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ गरी नेपाल ल्याइएको हो । ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते इन्टरपोल महासचिवालयबाट सुपुर्दगी तथा २०७७ साउन १९ मा ‘रेड नोटिस’ जारी भएको थियो ।
यादवलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको इन्टरपोल शाखाले जानकारी दिएको छ ।